Logo
Logo

बालेनको ‘नियत’ले छिमेकी झस्कियो


2.8k
Shares

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा देखिएका समस्याका कारण कहिलकाही चिसोपना आउने गरेको छ । यसपटक पनि नेपालको भूमि भएर चीन र भारतले तिब्बत मानसरोवर दर्शन यात्रा खुला गरेपछि चिसोपना उत्पन्न भयो । नयाँ सरकार बनेपछि अमेरिका र भारतले सबैभन्दा पहिला रवि लामिछाने र बालेन साहलाई बधाई दिएका थिए ।

त्यसक्रममा भारतले नेपाली जनताले मतमार्फत परिवर्तन खोजेकोमा खुशी प्रकट गरेको थियो । साथै, नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई भारत भ्रमणको निम्तो समेत दिएको थियो । अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेर पनि भारत भ्रमण गर्न नपाई बिदा भएका थिए । तर साहलाई भने यसपटक सुरुमै बधाई दिने क्रममा भारत भ्रमणको निम्तो दिइएको थियो ।

नेपालका प्रधानमन्त्री साहलाई भारत भ्रमणको निम्तो दिइरहेका बेला भारतले त्यसलाई औपचारिकता प्रदान गर्न भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमण आउने तय भएको थियो । परिवर्तित स्थितिमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने एजेण्डासहित मिश्रीको भ्रमण २८ वैशाखका लागि तय भएको थियो । तर अचानक विदेश सचिव मिश्रीको भ्रमण स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विदेशसचिव मिश्री प्रधानमन्त्री मोदीका विशेषदूतका रुपमा नेपाल आउन लागेको बुझिएको थियो । पक्कै पनि भारतीय प्रधानमन्त्री मोदीसँग छलफल गरेरै उनी प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्ता दिन आउन लागेका हुन् । मिश्रीको भ्रमण स्थगित हुनुको कारण प्रधानमन्त्री बालेन साहले उनलाई भेट नदिनु हो भनिन्छ । त्यसो त केही साता अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूतका रुपमा नेपाल भ्रमणमा आएका सर्जियो गोरसँग पनि बालेनले भेटेनन् ।

यस घटनाबाट बालेनमा कूटनीतिक कमजोर बुझिन्छ । आफूभन्दा तलका कूटनीतिज्ञहरुसँग उनले नभेट्ने ‘मुड’ बनाएकोले उक्त भेट हुन नसकेको बताइन्छ । तर यसले नेपालप्रति छिमेकीलगायत मित्र देशहरुमा कस्तो प्रभाव पछर्छ भन्ने कुरालाई बालेनले ख्याल गरेको देखिएन ।

गत २१ फागुनको चुनावी नतिजासँगै फेरिएको नेपालको आन्तरिक राजनीतिमा भारतले निकै चासो राखिरहेको छ । चुनावअघि भारतले अहिलेको नतिजाको आंकलन गरिसकेको थियो । र, भारतीय अधिकारीहरूले चुनावअघि नै भारतीय दूतावासमा आयोजित भेलामा सो कुरा सेयरमात्र गरिरहेका थिएनन, बालेनसँग काम गर्न आतुर रहेको संकेत गरेका थिए ।

यद्यपि, भारतले बालेनलाई अनुमान गर्न नसकिने नेता अर्थात अनप्रेडिक्टेबल लिडरको रूपमा भने लिने गरेका छन् । त्यसैले, भारत बालेनसँग इन्गेजमेन्ट बढाउन खोजिरहेपनि विदेशी कुटनीतिकसँग तत्काल भेटघाट गर्ने नीति नभएको सन्देश भारतीय विदेश सचिवसम्म पुगेपछि मिश्रीले भ्रमण रद्ध गरेको बुझिएको छ ।

भारतले नेपालसँग नयाँ सम्बन्ध विस्तारमात्र होइन, नयाँ सरकारको नीति बुझ्न चाहन्थ्यो । त्यही अर्थमा विदेशसचिव मिश्री बालेनका लागि भ्रमण निम्ता कार्ड बोकेर आउन लागेका थिए । तर, बालेनसँग मिश्रीको भेट भने तय हुन सकेन् । कूटनीति च्यानलबाट भएका पछिल्ला प्रयासमा बालेनले प्रष्ट जवाफ दिएका थिएनन ।

अमेरिकी राष्टपति डोनाल्ड टम्पका विशेष दूत सर्जियो गोरलाई नभेटेका बालेनले मिश्रीलाई भेट्ने सम्भावना कम थियो । एकातिर गोरसँग नभेटेका बालेनले मिश्रीसँग भेट्ने कुरामा शंका थियो । भारत भ्रमणको निम्ता बोकेर आउने विदेशसचिवले प्रधानमन्त्रीलाई निम्ता कार्ड दिन नपाउने भएपछि भारतले मिश्रीको भ्रमण स्थगित गराएको छ ।

विदेशसचिव मिश्रीको भ्रमण स्थगित हुने पहिलो कारण निम्ता कार्ड बालेनलाई भेटेर दिने ग्यारेन्टी नहुनु हो भने दोस्रो कारण लिपुलेक सीमा प्रकरण हो । परराष्टमन्त्री शिशिर खनाल मौरिससको भ्रमणमा नै भारतीय विदेशमन्त्री एस जयशंकरबीच मिश्रीको नेपाल भ्रमणबारे अनौपचारिक छलफल भएको थियो । त्यतिबेला सीमा विवादमा नेपालको औपचारिक धारणा बाहिर आइसकेको थिएन ।

चीन र भारतले लिपुलेक नाकाबाट व्यापार गर्ने सहमति बालेन प्रधानमन्त्री हुनुभन्दाअघि नै बाहिरिएको थियो । जब नेपालले लिपुलेकबारे औपचारिक धारणा परराष्ट मन्त्रालयमार्फत सार्वजनिक ग¥यो, लगत्तै भारतले प्रतिवाद ग¥यो । अनि, मिश्रीको भ्रमण पनि स्थगित भयो ।

अहिले मिश्रीको भ्रमण स्थगितको विषयलाई धेरैले सार्वजनिक चासोका साथ हेरेका छन् । यसलाई केही कूटनीतिज्ञ तथा भूराजनीतिक विश्लेषकले बालेनको नेपाल र भारतको सम्बन्धको नीति कस्तो हुनेछ भन्ने चासोमा केन्द्रित देखिएका छन् । मिश्रीको भ्रमण स्थगितको सूचना बाहिरिएपछि नेपाल भारत सम्बन्ध नै बालेनका लागि पेचिलो बन्ने संकेत देखिएको छ ।

सुरुवाती चरणमा अविश्वासको अवस्था आउने संकेतले भने दुई देशको सम्बन्ध चिसोपन बढ्ने सम्भावना रहन्छ । हुन त, मिश्रीको भ्रमण स्थगितलाई कतिपयले पछिल्ला दिनमा नेपालमा विकसित राजनीतिक घटनाक्रमसँग असन्तुष्ट रहेको संकेतका रूपमा पनि हेरिरहेका छन् ।

सरकारका गतिविधि भारत र चीनसँगभन्दा बढ्ता पश्चिममासँग केन्द्रित रहेको बुझाइमा भारतीय पक्ष देखिन्छ । खासगरी पछिल्लो समय अमेरिकी चासो र भ्रमणहरु नेपालमा बढिरहेको छ । यसबाट कतिपयले बालेनलाई अमेरिकासँग जोडेर हेर्ने गरेका छन् । चुनावताका र पछाडि पश्चिमा मिडियाले बालेनलाई दिएको उच्च स्थानले पनि पछिल्लो शंकालाई मलजल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्