काठमाडौं । बालेन सरकारको आवाज ठूलो सुनिएका बेला एमाले भने सातो हराएको मानवजस्तो देखिएको छ । एमालेका युवा नेताहरुले बैठक गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजेपनि त्यसको बारेमा औपचारिक छलफल हुनसकेको छैन ।

नेतृत्वको बारेमा मात्र होइन निर्वाचन भएको दुई महिना पूरा हुँदा पनि निर्वाचनमा पराजय भएको विषयमा आन्तरिक समीक्षा समेत हुन सकेको छैन । जिल्लाका नेताहरुले निर्वाचन पराजय हुनुको प्रमुख कारण मुल नेतृत्व भएको घोषित अघोषित बताइरहेका बेला ओलीले कोही कसैले आफ्नो क्षेत्रमा जोगाएको देखिएन भन्दै ओठे जवाफ दिएर पन्छिने गरेका छन् ।
ओली पक्राउ परेपछि एमालेभित्र नेतृत्व परिवर्तनको विषयले मात्र होइन, एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेबीच भएको गठजोडले तरंग ल्याएको छ । एकमहिना यता यी दुई नेताले ओलीसँगको दुरी बढाउदै लगेका छन् । दुवै नेताले ओलीलाई सम्मानजनक बर्हिगमनको प्रस्ताव राखेपछि दुरी बढाएका हुन् ।
यद्यपि, आइतबार राती ओली र उपाध्यक्ष पौडेलबीच लामो कुराकानी भएको छ । ओलीलाई भेट्न आइतबार साँझ ७ बजे गुण्डु पुगेका थिए । ७ बजे गुण्डु पुगेका पौडेल राती ११ बजेमात्र बाहिरिएको स्रोतको दाबी छ ।
एमालेमा नेतृत्वको बहस टड्कारो रुपमा उठिरहेका बेला पौडेलले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन् । ओली निकट स्रोतका अनुसार उनीहरुबीच शुरुमा ओलीको स्वास्थ्य अवस्थाबारे कुराकानी शुरु भएको थियो । त्यसपछि मुलुकको समसामयिक राजनीतिक अवस्था र परिस्थितिबारे कुराकानी भएको थियो ।
पौडेलले बाहिरी राजनीतिक परिस्थिति र एमाले कार्यकर्ताहरुको मनोविज्ञानको कुरा थाल्दा ओलीले मैले बुझेको छु, तपाईँले भन्न खोज्नुभएको अध्यक्ष हट्नुपर्यो होइन त भन्दै पौडेलको कुरा सुन्न चाहेनन् । तर पनि पौडेलले देशभरबाट आएको एउटा रिपोर्ट भन्दै एउटा रिपोर्ट ओलीलाई दिएका थिए । उपाध्यक्ष पौडेलले देशभरका कार्यकर्तासँग भेटघाट गरेर एउटा रिपोर्ट बनाएका थिए ।
यद्यपि, ओलीले त्यसलाई नहेरी राजेश बज्रचार्यलाई राख्न दिएका थिए । पौडेलले सचिवालय, केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका थिए । तर ओलीले अहिले सचिवालय बोलाउने त्यसपछि अन्य निर्णय गरौला भन्दै पन्छिएका थिए । ओलीले आफूले पार्टी जोगाएर यहाँसम्म ल्याएको र सबैलाई नेतृत्वको अवसर दिएको बताउँदै आफ्नै नेतृत्व जोगाउन नसकेको भन्दै पौडेललाई हप्काएका थिए । ‘माओवादीको पञ्जाबाट पार्टी खोसेर ल्याए, तपाईहरु सबैलाई नेतृत्वमा लगे, अहिले संकटका बेला मलाई हटाउन खोज्दै हुनुहुन्छ हेरौँला’, ओलीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।
एमाले उपाध्यक्ष पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताइरहेका बेला ओलीसँग एकल भेटघाट गर्नुलाई एमाले पंक्तिले अर्थपूर्ण रुपमा लिएको छ । तर, ओलीको दम्भलाई हेर्दा अझै पनि उनको चेत खुलेको छैन ।
रुपन्देही २ बाट पराजय भोगेलगत्तै पौडेलले नेतृत्व परिवर्तनको अग्रसरता लिने संकेत गर्दै भनेका थिए– ‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।’
महाधिवेशनमा पराजित पक्षले होइन ओलीलाई जिताउने नेताहरूले नै नेतृत्व परिवर्तनको अग्रसरता लिएपछि एमालेमा अब ओलीलाई कार्यकारी नेतृत्वबाट बिदा गराउने प्रक्रिया अघि बढ्ने देखिएको छ । पौडेलपछि ओलीनिकटकै नेता प्रदीप ज्ञवालीले पनि आवश्यकता परे नेतृत्व परिवर्तन गर्नेतर्फ जाने प्रतिक्रिया दिइसकेका छन् । पौडेलले यसबीचमा केही पदाधिकारीसहित एमालेका नेताहरुसँग नीतिहरूको पुनः व्यवस्थापन, नेतृत्व परिवर्तन, कार्यशैली र संगठनको पुनर्गठनको आवश्यकताका बारेमा अनौपचारिक छलफल समेत गरेका छन् ।
पार्टी मिलाउन र नेतृत्वबीच समन्वय गर्न सक्ने क्षमता भएका पौडेलले एमालेको तलाउमा ढुंगा फालेर तरंग सिर्जना गरेका थिए । उनी अब अहिलेको मुख्य नेतृत्वलाई राजीनामा गराएर वा प्रक्रियाबाट बिदा गरेर पार्टीलाई पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।















