काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) क्रिकेट विश्वकप–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाका कप्तान शाइतेजा मुकामालाले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।
दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन् । पहिलो खेलमा नेपाल र अमेरिका दुवैले स्कटल्यान्डसँग डीएलएस पद्धतिका आधारमा दुई रनको हार व्यहोरेका थिए । नेपाल जित निकाल्दै शीर्ष चारको सम्भावनालाई जीवितै राख्न चाहन्छ ।
हालसम्म २५ खेल खेलेको नेपाल १८ अंकका साथ सातौँ स्थानमा छ । यता, अमेरिका पनि घरेलु टोलीलाई निराश बनाउँदै शीर्ष स्थानमा फर्किने सोचमा छ । २५ खेल खेलेको अमेरिका ३६ अंकका साथ दोस्रो स्थानमा छ ।














