Logo
Logo

आईसीसी विश्वकप लिग-२: स्कटल्याण्डमाथि शानदार जित निकाल्दै पाँचौँ स्थानमा उक्लियो नेपाल


756
Shares

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।

यो जितसँगै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिएको छ । नेपालले समान २२ अंक बनाएको नामिबियालाई नेट रन रेटका आधारमा पछाडि पारेको हो । २२ अंक जोडेको नेपालले २७ खेलमा १० जित र १५ हार व्यहोरेको छ भने दुई खेल रद्द भएका थिए ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेल र इशान पाण्डेले अर्धशतकीय पारी खेले । कप्तान रोहितले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाए ।

त्यस्तै, ६१ बल खेलेका इशानले ५ चौका र २ छक्काको मद्दतमा ५५ रन जोडे । उनले दोस्रो विकेटका लागि ओपनर कुशल भुर्तेलसँग १०४ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर आशिफ शेखले २९ रन बनाउँदा कुशल भुर्तेलले २८ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि ५८ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । स्कटल्याण्डका मार्क वाटले २ र ब्रान्डन म्याकमुलेनले १ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै आक्रामक ७३ रन बनाए । उनले तेस्रो विकेटका लागि कप्तान रिचि बेरिंगटनसँग ४२ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, माइकल इंग्लिसले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ५१ रनको योगदान दिए । ओपनर जर्ज मुन्सीले २१, मार्क वाटले २० र कप्तान रिचि बेरिंगटनले १२ रन बनाए । नेपालका लागि बलिङतर्फ ललित राजवंशीले घातक बलिङ गर्दै ४ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट झारे भने सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीको भागमा समान १–१ विकेट रह्यो ।

यो खेलमा पराजित भए पनि स्कटल्याण्ड ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायम छ । स्कटल्याण्डले ३१ खेलमा १६ जित र ९ हार व्यहोरेको छ भने उसका ६ खेल रद्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्