
काठमाडौं । सरकारले समायोजित मन्त्रालयहरूको ओएनएम (कार्यालय तथा व्यवस्थापन सर्वेक्षण) को मार्गनिर्देशक सिद्धान्त बनाउन कार्यदल बनाएको छ ।
सोमबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा कार्यदल बनाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार कार्यदलमा अन्य ३ सचिव सदस्य छन् ।
जसमा अर्थ सचिव घनश्याम उपाध्याय, भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना सदस्य छन् ।
समितिलाई ५ दिनको समय दिइएको प्रवक्ता अर्यालले जानकारी दिए । त्यो बाहेक सम्बन्धित मन्त्रालयले आफ्नो ओएनएमको काम गरिरहेको पनि अर्यालले जानकारी दिए ।
सरकारले गत बैशाख ३० गते नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित गरेको थियो । त्यो नियमावलीले बहाल रहेका २२ मन्त्रालयको संख्या घटाएर १८ मा झारेको छ । त्यसपछि त्यहाँ काम गर्ने सचिवदेखि तल्लो तहका कर्मचारीसम्म कसरी व्यवस्थापन गर्ने भन्ने अन्यौल छ । त्यसैको मार्गदर्शक सिद्धान्त बनाउन कार्कीको संयोजकत्वमा कार्यदल बनाइएको हो ।














