काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बताएकी छन् ।

मन्त्री रावलले सहकारी समस्या समाधानपछि सुकुम्वासी समस्या पनि प्राथमिकतामा रहेको बताउँदै भनिन्, ‘हाम्रो लक्ष्य अबको केही हप्तामा सुकुम्वासीको हकमा लालपुर्जा वितरण गर्नु हो ।’
बालेन शाहको नेतृत्वमा काठमाडौं उपत्यकाका खोला किनारका अव्यवस्थित बसोबासीको घरटहरा डोजरले भत्काएपछि विस्थापितहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ । त्यहाँ वास्तविक सुकुमवासीको पहिचान (स्क्रिनिङ) कार्य भइरहेको छ ।
पहिचान भएपछि उनीहरूलाई लालपुर्जा दिने योजना सरकारको रहेको छ । अन्य जिल्लामा पनि सरकारी जग्गा खाली गर्ने अभियान चलिरहेको छ ।
सुकुम्वासी अगुवाहरूले उचित बसोबासको विकल्पबिना डोजर चलाएको भन्दै आलोचना गर्दै आएका छन् । सर्वोच्च अदालतले चरणबद्ध व्यवस्थापन गर्न आदेश दिएको छ ।मन्त्री रावलले पुराना संरचनाले काम नदिएकाले अध्यादेशमार्फत् नयाँ तरिकाले सरकार अगाडि बढेको बताएकी छन् ।














