काठमाडौं । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् । बैङ्किङ कसुर मुद्दाका फरार शाही मङ्गलवार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी गराएको हो ।

नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै शाहीलाई १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।
फैसलापश्चात फरार रहेका शाहीलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०८३ जेठ ४ गते बिहान ९ः३० त्रिपुराकोटबाट पक्राउ गरिएको हो ।
डोल्पा जगदुल्ला गाउँपालिका-२ निवासी कांग्रेस जिल्ला उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको छ । जिल्ला अदालत डोल्पामा पनि शाही विरुद्ध दस लाखको बैङ्किङ कसुर मुद्दा छ । उनी विरुद्ध मुड्केचुला गाउँपालिका-१ का लंकबहादुर रोकायाले गत वर्षको मङ्सिरमा उजुरी दर्ता गराएका छन् ।














