काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको सुनुवाइ गर्दै नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

सुनुवाइ समितिले अनुमोदन गरेपछि अब संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउनेछ, जसका आधारमा उनको औपचारिक नियुक्ति हुनेछ। न्याय परिषद्ले पठाएका ६ जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।
संवैधानिक परिषद्ले स्थापित वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध गरिरहेका छन्। हाल सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल छिन् र वरीयताक्रम अनुसार उनी नै प्रधानन्यायाधीशको आकांक्षी थिइन्।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीलाई निर्णय लिन सहज हुने वातावरण तयार गरेको थियो। ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान अध्यादेशमा राखिएको थियो। त्यही अध्यादेश आएपछि बसेको परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको थियो।
शर्माको नाम सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राखेका थिए। संवैधानिक परिषद्का दुई सदस्यको असहमतिका बीच शर्माको नाम परिषद्बाट निर्णय भएको थियो।














