काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालनमा ल्याएको आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा निःसन्तान दम्पतीका लागि वरदान साबित हुँदै गएको छ ।

अस्पतालले उच्च प्रविधि र विशेषज्ञ चिकित्सकहरूको माध्यमबाट सेवा सुरु गरेको करिब पाँच वर्षको अवधिमा उल्लेख्य सफलता हासिल गरेको छ । नेपाली काँग्रेसका नेता डा। सुनील शर्माद्वारा सञ्चालित यस अस्पतालमा २०७८ साल पुसदेखि आईभीएफ सेन्टर सञ्चालनमा आएको हो । अस्पतालको तथ्याङ्कअनुसार हालसम्म ४२२ दम्पतीले यो सेवा लिइसकेका छन् ।
सेवा लिने ४२२ दम्पतीमध्ये ३४० जनामा भ्रूण स्थानान्तरण गरिएको थियो । जसमध्ये २१६ जनामा गर्भधारण सफल भएको छ, जुन कूल स्थानान्तरणको ६३.५२ प्रतिशत हो । आईभीएफको अन्तिम सफलता स्वस्थ शिशुको जन्मलाई मानिन्छ । यस आधारमा हेर्दा, नोबेल अस्पतालबाट सेवा लिएकामध्ये हालसम्म १०४ दम्पतीले स्वस्थ शिशु प्राप्त गरिसकेका छन् । यो सफलताको दर करिब ५० प्रतिशत रहेको छ । अस्पतालका अनुसार अहिले पनि तीनवटा केसहरू अन्तिम परीक्षण (बिटा–एचसीजी) को पर्खाइमा रहेका छन् ।
नोबेल आईभीएफ केन्द्रकी प्रमुख प्राध्यापक डा। शान्ति सुवेदीकाअनुसार यहाँ विश्वस्तरीय प्रविधिमार्फत उपचार गरिन्छ । अस्पतालले निःसन्तान परामर्श, शुक्राणु विश्लेषण, पुरुष प्रजनन क्षमता परीक्षण, इन्ट्रा युटेरिन इन्सेमिनेसन, अण्डा संकलन, र प्रयोगशालामा भ्रूण तयार गर्ने जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।
यस्तै, उन्नत प्रविधिअन्तर्गत एकल शुक्रकीटलाई सिधै अण्डाभित्र प्रवेश गराउने ‘इक्सी’, भविष्यका लागि अण्डा वा भ्रूण रोक्का गर्ने र शुक्रकीट फ्रिज गर्ने सुविधा समेत उपलब्ध छ । पुरुषमा शुक्रकीटको अभाव भएमा शल्यक्रियामार्फत शुक्रकीट निकाल्ने विशेष प्रविधि पनि यहाँ प्रयोग गरिँदै आएको डा। सुवेदीले जानकारी दिइन् ।
सामान्यतया आईभीएफ उपचारका लागि एक दम्पतीलाई ३ देखि ४ लाख रुपैयाँसम्म खर्च लाग्ने भएपनि मेडिकल कलेज भएकाले नोबेलले सहुलियत दरमा सेवा प्रदान गर्ने प्रयास गरिरहेको छ । अस्पतालले अमेरिका, डेनमार्क र जापानबाट आयातित अत्याधुनिक उपकरणहरू प्रयोग गरिरहेको छ ।
अस्पताल प्रशासनकाअनुसार आगामी दिनमा राजधानीका ठुला आईभीएफ सेन्टरहरूमा समेत उपलब्ध नभएका विश्वका नवीनतम प्रविधिहरू भित्र्याउने तयारी भइरहेको छ । आधुनिक चिकित्सा पद्धतिको प्रयोगले गर्दा समाजमा निःसन्तान हुनुलाई भाग्यको दोष मान्ने पुरातन सोचमा परिवर्तन आएको र यसलाई चिकित्सकीय समस्याका रूपमा बुझ्न थालिएको अस्पतालको निष्कर्ष छ ।














