Logo
Logo

अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि


126
Shares

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले दमाकलाई ४-१ ले हराउँदै साउदी प्रो लिगको उपाधि जितेको छ । सन् २०२३ को जनवरीमा साउदी अरब पुगेपछि रोनाल्डोको यो पहिलो लिग उपाधि हो ।

अल नासरले क्लब इतिहासको ११औँ लिग उपाधि जित्दा रोनाल्डो आबद्ध भएयताको पहिलो सफलता पनि हात पारेको हो । अन्तिम खेलअघिसम्म उपाधि होडमा रहेको अल हिलालभन्दा अल नासर दुई अङ्कले अघि रहँदै च्याम्पियन बनेको हो ।

गत साता अल हिलालसँग १–१ को बराबरी खेल्दा ब्राजिली गोलरक्षक बेन्तोको इन्जुरी समयमा भएको गल्तीका कारण अल नासरले उपाधि पक्का गर्ने अवसर गुमाएको थियो । त्यसपछि टोलीले एसियाली च्याम्पियन्स प्रतियोगिताको फाइनलमा जापानी क्लब गाम्बा ओसाकासँग घरेलु मैदानमै अप्रत्याशित हार बेहोरेको थियो ।

तर प्रशिक्षक होर्जे जिससको टोलीले यसपटक भने दमाकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उपाधि सुनिश्चित गर्‍यो । खेलमा साडियो मानेले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि किङ्स्ले कोमानले दोस्रो हाफ सुरु भए लगत्तै अर्को गोल थपे । रोनाल्डोले थप दुई गोल गर्दै टोलीको जित र उपाधि दुवै पक्का गरे ।

यो सिजन रोनाल्डोको लिगमा २७औँ र २८औँ गोल थियो । उनले साउदी अरबमा तीन सिजन बिताउने क्रममा अल नासरका लागि एक सयभन्दा बढी गोल गरिसकेका छन् ।

खेलको अन्त्यतिर भावुक देखिएका रोनाल्डोलाई खेल सकिन तीन मिनेट बाँकी हुँदा मैदानबाट बाहिर निकालिँदा समर्थकले उभिएर सम्मान गरेका थिए । पाँच पटकका बालोन डिओर विजेता रोनाल्डोले अब पोर्चुगल, इङ्ग्ल्यान्ड, स्पेन, इटाली र साउदी अरबमा घरेलु लिग उपाधि जित्ने कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले अब सन् २०२६ को विश्वकपमा पोर्चुगलका लागि खेल्नेछन् । यो उनको विश्वकपमा छैटौँ सहभागिता हुनेछ । अल नासरबाट उनले यसअघि जितेको अर्को उपाधि सन् २०२३ को अरब क्लब च्याम्पियन्स कप हो । तर उक्त प्रतियोगिता विश्व फुटबल महासङ्घबाट मान्यता प्राप्त उपाधि भने होइन ।

प्रतिक्रिया दिनुहोस्