काठमाडौं । सोमबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.८५ अंक अर्थात् १ प्रतिशतले बढेर २७८६ अंकमा पुगेको छ । यो स्तर वैशाख १४ यताकै उच्च हो ।

आज बजार खुल्दादेखि नै हरियाली देखिएको थियो । परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार यो रकम बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यो कारोबार रकम वैशाख १५ पछिकै उच्च मानिएको छ ।
कारोबार भएका कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
समूहगत सूचकतर्फ जलविद्युत् क्षेत्र सबैभन्दा अगाडि रह्यो । यो समूह १.५० प्रतिशतले बढ्यो । त्यसैगरी बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ तथा व्यापार समूह ०.३२ प्रतिशतले उकालो लागे ।
आज सबैभन्दा धेरै मूल्य बढ्ने पाँच कम्पनीमध्ये सबै जलविद्युत् क्षेत्रकै रहे । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.०१ प्रतिशतले बढ्यो । त्यस्तै सुपर खुदी हाइड्रोपावर ८.३२ प्रतिशत, अपर हेवाखोला ५.३८ प्रतिशत, मायाखोला हाइड्रोपावर ५.३४ प्रतिशत तथा रिजलाइन इनर्जी ५.१९ प्रतिशतले बढेका छन् ।














