काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्सका चर्चित खेलाडी रविन्द्र ढाँटले आज प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ मा प्रतिस्पर्धा गर्ने भएका छन् । चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा आयोजना हुने बान्टमवेट विधाको क्वाटरफाइनल खेलमा ढाँटले फिलिपिन्सका फाइटर किमबर्ट अलिन्तोजोनको सामना गर्न लागेका हुन् ।

म्याट्रिक्स फाइट नाइटको बान्टमवेट च्याम्पियन बनेर इतिहास रचिसकेका २७ वर्षीय रविन्द्रका लागि विश्वकै प्रतिष्ठित ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ को यात्रा तय गर्ने यो एउटा सुनौलो अवसर हो । हालसम्म व्यावसायिक एमएमए करियरमा १० मध्ये ९ खेल जितेका रविन्द्र उच्च मनोबलका साथ मकाउमा देशको प्रतिनिधित्व गर्दै रिङमा उत्रिँदै छन् ।
विश्वभरका नेपाली खेलप्रेमीहरूले यस ऐतिहासिक भिडन्तलाई निकै चासोका साथ पर्खिरहेका छन् । यसअघि रविन्द्रको सामना म्याटी इआनसँग हुने भनिए पनि इआन चोटग्रस्त भएपछि उनको स्थानमा अलिन्तोजोन आएका हुन् ।














