Logo
Logo

आइपिएलको फाइनल आज : बैंगलुरु र गुजरात भिड्दै 


693
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच आज बहुप्रतीक्षित फाइनल प्रतिस्पर्धा हुँदै छ । दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

The current image has no alternative text. The file name is: ipl-6.jpg

समूह चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका दुवै टोलीमध्ये गुजरात र बेंगलुरु पहिलो क्वालिफायर्समा आमनेसामने भएका थिए । उक्त खेलमा बेंगलुरुले एकपक्षीय जित निकालेको थियो । तर उपाधि भिडन्तमा परिस्थिति फरक रहने अपेक्षा गरिएको छ । गुजरातको घरेलु मैदानमा हुने फाइनल खेलमा दुवै टोलीमाथि जितको दबाब रहनेछ ।

यसपटकको उपाधि भिडन्तमा दुई फरक खेल शैलीबीच प्रतिस्पर्धा हुनेछ । बेंगलुरुले आक्रामक र निडर खेलमार्फत प्रतियोगितामा प्रभुत्व जमाएको छ भने गुजरातले संयमित र धैर्यपूर्ण प्रदर्शनका आधारमा पाँच वर्षमा तेस्रो पटक उपाधि भिडन्तमा स्थान बनाएको हो । बेंगलुरु बलियो दाबेदार देखिए पनि गुजरातलाई कमजोर आँक्न सकिने अवस्था छैन ।

बेंगलुरुको सफलतामा विराट कोहलीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । सुरुआती खेलहरूमा फिल साल्टसँग उनको साझेदारी प्रभावशाली थियो । तर साल्ट घाइते भएपछि वेंकटेश अय्यरले टोलीलाई मजबुत सुरुआत दिलाउँदै आएका छन् । अन्तिम प्रतिस्पर्धामा साल्ट उपलब्ध हुने वा नहुने विषय पनि चासोको केन्द्र बनेको छ ।

गुजरातका लागि शीर्षक्रमका ब्याटरहरू मुख्य आधार हुन् । शुभमन गिल र साई सुदर्शनको जोडीले यस सिजन उत्कृष्ट प्रदर्शन गरेको छ । दुवैले छनोट चरणमा कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका छन् । उनीहरूको निरन्तर प्रदर्शनले गुजरातलाई उपाधिनजिक पुर्‍याएको छ । जोस बटलर पनि कुनै पनि बेला खेलको दिशा बदल्न सक्ने क्षमता भएका ब्याटर मानिन्छन् ।

बलिङतर्फ बेंगलुरुका भुवनेश्वर कुमार र जोश हेजलउडले नयाँ बलबाट लगातार प्रभाव छाडेका छन् । उनीहरूले सुरुआती ओभरमै विपक्षीलाई दबाबमा पार्ने क्षमता देखाएका छन् । गुजरातका प्रमुख ब्याटरहरूलाई रोक्न उनीहरूको भूमिका निर्णायक बन्न सक्छ ।

यता गुजरातले पनि आफ्ना तीव्र गतिका बलरहरूबाट ठूलो अपेक्षा राखेको छ । कागिसो रबाडा, प्रसिद्ध कृष्णा र मोहम्मद सिराजको उत्कृष्ट प्रदर्शन गर्न सके बेंगलुरुको आक्रामक ब्याटिङलाई नियन्त्रण गर्न सक्ने विश्वास गरिएको छ । साथै राहुल तेवतियालाई सुरुआती टोलीमै समावेश गरेर ब्याटिङलाई थप बलियो बनाउने सम्भावना पनि छ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यस वर्षको उपाधि भिडन्त अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। क्रिकेट समर्थकहरू एक अविस्मरणीय प्रतिस्पर्धाको प्रतीक्षामा छन् ।

फाइनलको सम्भावित टोली: 

बेंगलुरुस् रजत पाटीदार (कप्तान), वेंकटेश अय्यर, विराट कोहली, देवदत्त पडिक्कल, जितेश शर्मा, टिम डेभिड, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, ज्याकब डफी, जोश हेजलउड र रासिख सलाम डार ।

गुजरात: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, निशान्त सिन्धु, वासिङ्टन सुन्दर, जेसन होल्डर, राहुल तेवतिया, राशिद खान, प्रसिद्ध कृष्णा, कागिसो रबाडा र मोहम्मद सिराज ।

प्रतिक्रिया दिनुहोस्