Logo
Logo

बालेनको ठाउँमा रविलाई ‘रातो कार्पेट’


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला भारतको भ्रमणमा छन् । उनी पार्टी सभापतिको हैसियतले भारत भ्रमणमा गएका हुन् । त्यसो त रविलाई भन्दा अगाडि बालेनलाई नयाँ दिल्लीमा ‘रातो कार्पेट’ बिछ्याउने तयारी थियो । तर बालेनले भारतीय विदेशसचिव विक्रम मिश्रीलाई भेट्न समय नदिएको कारण भाजपाको निम्तोमा लामिछाने नयाँ दिल्ली गएका हुन् ।

पार्टी सभापति भारत भ्रमणमा जानुपूर्व प्रधानमान्त्री बालेनले संसद्मा भारतको भूमि नेपालले मिचेको प्रसंग उठाएर विवाद खडा गरेका छन् । बालेनले यही बेला किन यस्तो अभिव्यक्ति दिए भन्ने कुरा आश्चर्यको विषय बनेको छ । कतै लामिछानेको भ्रमणलाई विवादमा पार्न उक्त अभिव्यक्ति दिएका त होइनन् भन्ने आशंका पनि छ । जे होस्, प्रधानमन्त्रीको यो बोलीले नेपाल–भारत सम्बन्धमा खैलाबैला मच्चाउने देखिन्छ ।

त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बने लगत्तै चैतको अन्तिम साता नवौं हिन्द महासागर सम्मेलनका लागि मौरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण चाँडै हुने दावी गरेका थिए ।

उनले त्यतिबेला भ्रमणको तीब्र तयारी समेत भएको दावी गरे । अघिल्ला केही सरकारका प्रधानमन्त्रीले जस्तै सरकार गठन भएको केही हप्तामै परराष्ट्रमन्त्रीले प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण भारत नै हुने दावी गरेपछि बालेन शाहको विषयमा भारतमा मात्र होइन तेस्रो मुलुकमा पनि चर्चा चुलिएको थियो ।

परराष्ट्रमन्त्री स्वदेश फर्किएपछि प्रधानमन्त्रीको भारत भ्रमणाका लागि केही कुटनीतिक तयारी देखिएको भएपनि बालेनका कारण त्यो कुरा असफल भैसक्यो । र, त्यसबीच रास्वपाबाट सभापति लामिछाने दिल्ली भ्रमणमा छन् ।

प्रधानमन्त्री बालेन शाहको भ्रमणअघि भारतले गत मे ११ मा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई २ दिने नेपाल भ्रमणमा पठाउन लागेको थियो । तर यो भ्रमण अन्तिम समयमा आएर बालेनका कारण रोकिएपछि सम्बन्ध विस्तार गर्न लामिछानेलाई निम्ता गरेको बुझिन्छ । त्यस्तै परराष्ट्रमन्त्री खनाल यही जेठ १८ गते भारत जाने तैयारीमा थिए । तर उनी सहभागी हुने भनिएको सम्मेलन नै स्थगित भएपछि परराष्ट्रमन्त्रीको भारत भ्रमण नै नेपालका तर्फबाट पनि रोकियो ।

यो सँगै नेपाल–भारतको सरकारी तवरणबाट हुने भ्रमण अन्योल बनेको छ । मुख्यतः नेपाल र भारतबीच लिपुलेक र कालापानीको सीमा विवादका कारण दुई देशीय सम्बन्ध र कुटनीतिमा संकट पैदा हुने खतरा छ । प्रधानमन्त्रीको भ्रमण हुनुपूर्व सत्ता सम्हालेको दल रास्वपाका सभापति लामिछानेको भारत भ्रमणले रवि र बालेनको सम्बन्धमा चिसोपना ल्याउने देखिन्छ ।

रास्वपा सभापति रवि लामिछाने भारत पुग्दा नेपालको कुटनीति र सत्तारुढ दल रास्वापाभित्र भने खैलाबैला मच्चिएको छ । यसले सत्तारुढ दल रास्वपाभित्रै रवि र बालेनबीच मतभेत सिर्जना त भएको होइन ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । खासगरी सरकारको नेतृत्व अन्तर्राष्ट्रिय स्तरमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयबाटै हुने गरेको छ । तर यहीबीचमा सरकारलाई नै ‘बाइपास’ गरेर पार्टी नेतृत्वले नै अर्को राष्ट्रका सरकार प्रमुखलाई भेट्नु कुटनीतिक रुपमा कति उपयुक्त होला ? भन्ने प्रश्न पेचिलो ढंगले उठेको छ ।

सभापति लामिछानेले भारत भ्रमणको तयारीलाई तीव्रता दिइरहँदा प्रधानमन्त्री बालेन शाह भने इयुका राजदूतहरुसँग छलफलमा व्यस्त रहेका थिए ।

प्रधानमन्त्री बालेन अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुद बनाउन सुरुदेखि नै विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल गरिरहेको आभाष दिलाउन यस्तो छलफल गरेका थिए ।

यो अवस्थामा बालेनले छिमेकी मुलुक भारतको भ्रमण स्थगन गर्नु र रवि आफँै भारत पुग्नुले कुटनीतिमा रवि–बालेनको आ–आफ्नै रफ्तार चलेको देखिन्छ ।

प्रधानमन्त्रीको साटो सत्तारुढ दलको नेतृत्वको भारत भ्रमणलाई लिएर विगतमा भारतले अपनाएको रणनीतिकै निरन्तरताको रुपमा पनि व्याख्या भइरहेका छन् । कतिपयले रविको भारत भ्रमणको विषयलाई लिएर विगतमा अन्य दलको सरकार रहँदा पनि तत्कालीन सत्तारुढ दलका नेताले भारत भ्रमण गर्ने गरेको टिप्प्णी गरिरहरका छन् । तर यो पटकको रविको भ्रमणलाई भने बालेनको मनोविज्ञानलाई बुझ्न भारतले रविलाई भारतले निम्ता गरेको विश्लेषण गरिरहेका छन् ।

खासगरी नेपालमा हाल रास्वपाको एकल सरकार छ भने, संसदमा झण्डै दुई तिहाइको बहुमत छ । यस्तोमा भारत आफूप्रति नेपाल सरकार र प्रधानमन्त्रीको धारणा कस्तो छ ? भन्ने बुझ्न चाहन्छ । प्रधानमन्त्री बालेन शाह हाल घुमाउरो ढंगले राष्ट्रवाद झल्काकाइरहेका छन् । उनले नेपाल भारत सीमा नाकामा गरेको व्यापारिक कडाई तथा लिपुलेक र कालापानीको सीमा विवादको विषयमा लिएको अडानका कारण भारत सशंकित छ । तर प्रधानमन्त्रीले आइतबार संसदमा दिएको अभिव्यक्तिले रविको भ्रमणमा कस्तो असर गर्ला भन्ने प्रश्न कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्