Logo
Logo

साफ च्याम्पियनसिपमा इतिहास बदल्ने नेपालको लक्ष्य


378
Shares

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्थामा छ ।

सन् २०१० देखि आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब १६ वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ ।

यस अवधिमा कयौँपटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। पछिल्लोपटक बंगलादेशले नेपाललाई टक्कर दिँदै पछि पार्दै आएको छ। विगत पाँच वर्षयता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ।

साफ च्याम्पियनसिपको सुरुआती यात्रादेखि निरन्तर सन् २०२१ सम्म बंगलादेशलाई हराउँदै आएको नेपाल त्यसपछि भने पराजित हुँदै आएको हो।

पछिल्लो तथ्यांकअनुसार जम्माजम्मी १३ खेलमध्ये नेपालले ६ खेलमा विजय हासिल गर्दा बंगलादेशले ५ खेलमा जित हासिल गरेको छ। यसैगरी, दुई खेल बराबरीमा टुंगिएको छ ।

सन् २०२२ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो।

सन् २०२४ को साफ च्याम्पियनसिपमा पनि बंगलादेशले नेपालाई नै हराउँदै लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो। सोही हारहरूको बदला लिँदै आज नेपाल बंगलादेशसँग भिड्दै छ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा हुने उक्त खेल स्थानीय समयअनुसार अपराह्न ४ बजे हुनेछ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बंगलादेशविरुद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो भएको बताए।

प्रतियोगिताको सुरुआती खेलमा गोवाको अत्यधिक गर्मी र आद्रताका कारण खेलाडीमा थकान देखिए पनि दोस्रो खेलसम्म आइपुग्दा टोलीले मौसमसँग आफूलाई अभ्यस्त बनाइसकेको उनले बताए।

प्रशिक्षक न्यौपानेले बंगलादेश विरुद्धको खेल अघिल्ला खेलभन्दा कठिन हुने उल्लेख गर्दै उत्कृष्ट प्रदर्शनका लागि सबै खेलाडी तयार रहेको जानकारी दिए।

’बंगलादेश बलियो टोली हो । उसविरुद्ध ‘टफ फाइट’ दिन हामीले पूर्ण ऊर्जा र अनुशासनका साथ खेल्नुपर्छ । खेलाडीहरू मानसिक र शारीरिक रूपमा तयार छन्,’ उनले भने।

हालै टोलीमा आबद्ध भएकी ‘मिडफिल्डर’ प्रिती राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक न्यौपानेको भनाइ छ।

कम्बोडियामा खेलिसकेकी प्रितीलाई गोवाको मौसममा खेल्न समस्या नहुने विश्वास व्यक्त गर्दै उनले प्रितीको बल वितरण क्षमता टोलीका लागि महत्त्वपूर्ण हुने बताए।

’प्रितीको विशेषता भनेकै राम्रो सप्लाइ हो । उनले अवसर सृजना गर्न सक्छिन् । अबको खेलमा सृजना भएका अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ, नत्र हामीलाई कठिन हुन्छ,’ उनले भने।

प्रिती सेमिफाइनदेखिको खेलका लागि गोवा आइपुगेकी हुन्। उनी कम्बोडियाको क्लबमा आबद्ध भएका कारण दुई दिनअघि मात्र गोवा आइपुगेकी हुन्।

प्रशिक्षक न्यौपानेले टोलीले सङ्गठित र ‘कम्प्याक्ट डिफेन्स’सहित ‘काउन्टर’ आक्रमणमा जोड दिने योजना रहेको बताए।

पछिल्ला दुई खेलमा दायाँ विङबाट धेरै आक्रमण भएको र बायाँ पक्षबाट अपेक्षित क्रस आउन नसकेको स्वीकार गर्दै उनले त्यसमा सुधारका लागि प्रशिक्षण भइरहेको जानकारी दिए।

‘फिटनेस’को विषयमा बोल्दै उनले तीन साताको तयारीपछि टोली राम्रो अवस्थामा रहेको बताए। सुरुआती खेलमा मौसमसँग अभ्यस्त हुन केही समस्या भए पनि हाल खेलाडीहरू पूर्ण रूपमा तयार रहेको न्यौपानेको भनाइ छ।

बंगलादेशबारे विश्लेषण गर्दै प्रशिक्षक न्यौपानेले उक्त टोली सङ्क्रमणकालीन चरणमा रहेको उल्लेख गरे।

’बंगलादेशमा नयाँ र अनुभवी खेलाडीको मिश्रण छ । अपेक्षाअनुसारको प्रदर्शन भने देखिएको छैन, तर उनीहरू शारीरिक रूपमा निकै बलिया छन् । त्यसैले हामी सचेत भएर खेल्नुपर्छ,’ उनले भने।

नेपाली दर्शकको समर्थनले खेलाडीहरूमा अतिरिक्त ऊर्जा थपिने र सेमिफाइनलमा जित निकालेर फाइनलयात्रा तय गर्ने नेपाली टोलीको लक्ष्य छ। ’खेलाडीहरूलाई साथ र समर्थनको आवश्यकता छ । दर्शकको माया र समर्थनले छुट्टै ऊर्जा दिन्छ । हामी जित निकालेर फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौं।’

समूह चरणको खेलमा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई एक शून्य गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो । त्यसैगरी समूहको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई दुई शून्य गोलअन्तरले पाखा लगाउँदै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको हो ।

श्रीलंका विरूद्धको खेलमा नेपाली टोलीको कप्तानको भूमिकामा आबद्ध भएकी रेनुका नगरकोटीले आफ्नो करिअरकै एतिहासिक गोल गरेकी छन्।

साफ च्याम्पियनसिपको सुरुआतदेखि नै टोलीमा आबद्ध उनले आफ्नो करिअरकै पहिलो गोल गरिन्।

खेलको ६०औँ मिनेटमा करिब २२ यार्ड टाढाबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरिन्। श्रीलङ्काविरुद्धको उक्त खेलमा नेपालले दुई शून्य गोलको जित निकालेको थियो।

बंगलादेशले समूह चरणको खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो भने भारतसँग हार व्यहोरेको थियो।

विभिन्न ६ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भारत र भुटानले सेमिफाइनलयात्रा तय गरेका छन्।

जसमा नेपाल समूह ‘ए’ विजेता हो भने बंगलादेश समूह ‘बी’को उपविजेता हो । त्यसैगरी, भारत समूह ‘बी’को विजेता बन्दा भुटान समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगितामा श्रीलंका र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएका छन् । आजै हुने भारत र भुटानबीचको दोस्रो सेमिफाइन खेल राति ८ बजे हुनेछ ।

विगत १६ वर्षदेखि उपाधिको नजिक पुगेर पनि खाली हात फर्किएको नेपाली टोली यसपटक इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्