काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल हङकङसँग ४० रनमै अलआउट भएको हो ।

हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा अलआउट भएको हो । सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अन्यले दोहोरो अङ्कमा रन बनाउनै सकेनन् ।
हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । चान का र मार्यम बिबीले २/२ विकेट लिए । सिउ मेइ र जोइलिन धलिवालले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित रहेर सर्वाधिक ४२ रन बनाइन् । मारिएको हिलले २९ रन बनाइन् । मारिना लाम्पलोह १८ रनमा अविजित रहिन् ।
नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १/१ विकेट लिए । यस हारका बाबजुद नेपाल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । एसिया कपमा छनोट हुनका लागि सेमिफाइनलसम्म पुग्नुपर्छ ।














