काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्डले टी- २० टिमको कप्तान श्रेयस अय्यरलाई बनाएको छ । यसअघिका कप्तान सूर्यकुमार यादवलाई हटाएर बोर्डले अय्यरलाई टी- २० कप्तान बनाएको हो ।

बोर्डले आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध हुने टी-२० टिमको घोषणा गरेको छ । शनिबार मुम्बईमा मुख्य छनोटकर्ता अजित अगरकरको नेतृत्वमा बसेको वरिष्ठ पुरुष छनोट समितिको बैठकले दुवै सिरिज र जापानमा हुने एशियन गेम्सका लागि टिमको घोषणा गरेको हो ।
घोषित टोलीमा श्रेयस अय्यर लाई नयाँ कप्तानको जिम्मेवारी दिइएको छ भने तिलक वर्मा उपकप्तान नियुक्त भएका छन् ।
भारतलाई टी–२० विश्वकप २०२६ को उपाधि दिलाएका सूर्यकुमार यादव भने यसपटक टोलीबाट बाहिरिएका छन् । उनले कप्तानी मात्र गुमाएका छैनन्, टोलीमा स्थान समेत बनाउन सकेनन् ।
टोलीमा विकेटकिपरका रूपमा ईशान किशन र सञ्जु सामसनलाई समावेश गरिएको छ । अक्षर पटेलले आफ्नो स्थान जोगाउन सफल भएका छन् । तीव्र गतिका बलरको जिम्मेवारी अर्शदीप सिंह, मोहम्मद सिराज र हर्षित राणामाथि रहनेछ ।
यसपटकको टोलीमा सबैभन्दा बढी चर्चा १५ वर्षीय वैभव सूर्यवंशीको चयनले पाएको छ । उनले पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । वैभवले इन्डियन प्रिमियर लिग २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताका सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । उनी भारतीय वरिष्ठ पुरुष टोलीमा समावेश हुने सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका छन् ।
मुख्य छनोटकर्ता अजित अगरकरले वैभवको प्रशंसा गर्दै उनी टोलीका लागि खेल परिवर्तन गर्ने खेलाडी साबित हुन सक्ने बताएका छन् ।
आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्धको टी-२० सिरिजका लागि प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराह लाई आराम दिइएको छ । यस्तै, स्पिनर रवि बिश्नोईको टोलीमा पुनरागमन भएको छ ।
भारतीय टोलीमा स्पिन विभागका लागि अक्षर पटेल, वरुण चक्रवर्ती र रवि बिश्नोई रहेका छन् । तीव्र गतिका बलिङ आक्रमणको जिम्मेवारी मोहम्मद सिराज, हर्षित राणा, अर्शदीप सिंह र प्रिन्स यादवले सम्हाल्नेछन् ।
आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणका लागि भारतीय टी- २० टिम :
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, सञ्जु सामसन, ईशान किशन, शिवम दुबे, नितीश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, मोहम्मद सिराज, हर्षित राणा, अर्शदीप सिंह र प्रिन्स यादव ।
एशियन गेम्सका लागि भारतीय टिम:
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, सञ्जु सामसन, ईशान किशन, शिवम दुबे, नितीश कुमार रेड्डी, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, जसप्रित बुमराह, हर्षित राणा र अर्शदीप सिंह ।














