
काठमाडौं । फुटबल इतिहासकै सबैभन्दा ठूलो र आधुनिक महाकुम्भ सुरु हुन अब मात्र ४ दिन बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडामा ४८ टोलीबीच हुने फिफा विश्वकप २०२६ यसपटक केवल खेल मात्र हुनेछैन, बरु यो प्रविधि र आधुनिकताको एउटा गज्जबको फ्युजन हुनेछ । यसपटक विश्वकपमा के–के नयाँ देख्न पाइनेछ त ? आउनुस् हेरौँ ।
सेन्सर जडित म्याच बल
सबैभन्दा पहिलो जादु त यसपटकको अफिसियल बल ‘ट्रियोन्डा’ मा देखिनेछ । यो बलभित्र एउटा सानो सेन्सर चिप जडान गरिएको छ, जसले प्रतिसेकेन्ड ५०० पटक बलको गति र दिशा ट्र्याक गर्नेछ । यसले गर्दा मैदानमा बल कसको खुट्टामा लाग्यो र कहिले लाइन क्रस ग¥यो भन्ने कुरा भिडियो असिस्टेन्ट रेफ्रीले आँखा झिम्काउने भरमा थाहा पाउनेछन् ।
एआईको प्रयोगमा थ्री–डी खेलाडी अवतार
त्यति मात्र कहाँ हो र ! प्रविधिको प्रयोग खेलाडीहरूमा पनि हुनेछ । एआई प्रविधिको मद्दतले प्रत्येक खेलाडीको थ्री–डी अवतार तयार पारिनेछ, जसले मैदानमा तीव्र गतिमा कुदिरहेका खेलाडीको हरेक मुभमेन्टलाई ट्र्याक गर्नेछ । यो प्रविधिलाई टिभी स्क्रिनमा पनि देखाइनेछ, जसले गर्दा दर्शकले अफसाइडको निर्णय अझ प्रष्टसँग बुझ्न पाउनेछन् । अचम्मको कुरा त के भने, रेफ्रीहरूको छातीमा बडी क्यामेरा समेत राखिनेछ, जसले गर्दा दर्शकले रेफ्रीकै आँखाबाट मैदानको खेल देख्न पाउनेछन्।
रोबोटिक कुकुर
अब कुरा गरौँ सुरक्षाको । विश्वकपमा कुनै झडप वा अप्रिय घटना हुन नदिन मेक्सिकन प्रहरीले सक्कली होइन, रोबोटिक कुकुरहरूको प्रयोग गर्दैछ । झण्डै डेढ लाख डलर खर्चेर किनिएका यी मेटलका कुकुरहरूले जोखिमपूर्ण क्षेत्रमा पुगेर नियन्त्रण कक्षमा सिधै भिडियो पठाउनेछन्, जसले सुरक्षा व्यवस्थालाई कडा बनाउनेछ ।
एडभान्स सेमी–अटोमेटेड अफसाइड प्रविधि
फुटबलमा सबैभन्दा बढी विवाद हुने अफसाइड रोक्न यसपटक ‘एडभान्स सेमी–अटोमेटेड प्रविधि’ ल्याइएको छ । अब खेलाडी मात्र १० सेन्टिमिटरले मात्रै पनि अफसाइड भयो भने रेफ्रीको कानमा तुरुन्तै ट्याँइ–ट्याँइ घण्टी बज्नेछ । यसले गर्दा गलत निर्णय र खेलाडीको चोटपटक निकै कम हुने फिफाले विश्वास लिएको छ ।
हाइड्रेसन ब्रेक
र अन्त्यमा, खेलाडीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै फिफाले एउटा नयाँ नियम अनिवार्य गरेको छ । अब मौसम जस्तोसुकै भए पनि, खेलको प्रत्येक हाफको २२औँ मिनेटतिर खेललाई ३ मिनेट रोकेर ‘हाइड्रेसन ब्रेक’ दिइनेछ, जहाँ खेलाडीहरूले पानी पिएर आफूलाई रिफ्रेस बनाउन सक्नेछन् । यसका लागि कुनै मौसम वा तापक्रम सम्बन्धी सर्त लागू गरिएको छैन ।














