काठमाडौं । नेपाली टी-२०आई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा १००औँ खेल पूरा गरेका छन् ।

एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा सोमबार हङकङसँग मैदानमा उत्रिएसँगै उनको १०० खेल पूरा भएको हो । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
उनी १००औँ खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनीभन्दा पछाडि सोमपाल कामीले ९१ खेल खेलेका छन् भने करण केसीले ९० खेल खेलेका छन् ।
दीपेन्द्रले सन् २०१८ मा लर्ड्समा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए ।
दीपेन्द्रले १०० खेलमा १ शतक र १२ अर्धशतकसहित २२१३ रन बनाएका छन् । यस्तै उनले ६२ विकेट समेत लिएका छन् ।
लामो समय उपकप्तानका रूपमा रहेका दीपेन्द्र केही समयअघि मात्रै टी-२०आई टोलीको कप्तान नियुक्त भएका थिए ।
दीपेन्द्रले नेपालका लागि यू–१९ स्तरमा पनि कप्तानी गरेका छन् । उनकै कप्तानीमा नेपालले यू-१९ एसिया कपमा भारतलाई हराएको थियो । घरेलु प्रतियोगितामा पनि उत्तिकै सफल छन् ।














