Logo
Logo

विश्वकपमा आयोजक अमेरिकाको शानदार सुरुवात


504
Shares

काठमाडौं । आयोजक अमेरिकाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ । लस एन्जलस स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४-१ को सहज जित दर्ता गरेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई तथा जियोभानी रेयनाले एक गोल गरे भने एक गोल उपहार (आत्मघाती) स्वरूप प्राप्त भयो । पाराग्वेका लागि मौरिसियोले एक सान्त्वना गोल फर्काए ।

खेलको सातौँ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । वेस्टन म्याकेनीको प्रहार रोक्ने क्रममा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिरेको थियो । त्यसपछि खेलको ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को बलियो स्थितिमा पुर्‍याए । खेलको ७१औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए ।

तर, दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीको ४–१ को जित सुनिश्चित गरे । यो जितसँगै समूह ‘डी’ मा रहेको अमेरिकाले महत्वपूर्ण ३ अंक जोड्दै शीर्ष स्थान ओगटेको छ ।

यस समूहमा अमेरिका र पाराग्वेका साथै अस्ट्रेलिया र टर्की रहेका छन् । यसअघि आजै भएको अर्को खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्