काठमाडौं । असार महिनाका लागि वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् । २० मध्ये १७ वाणिज्य बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार जेठको तुलनामा असारमा निक्षेपको ब्याजदर घटेको हो ।

११ बैङ्कले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन् । ६ वटा बैङ्कले ब्याजदर घटाएका छन् । यिनमा लक्ष्मी सनराइज, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, हिमालयन, एनएमबी बैङ्क छन् ।
असारमा वाणिज्य बैङ्कहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ । एनएमबी र राष्ट्रिय वाणिज्य बैङ्कले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यस्तो औसत ब्याजदर ४.२७ प्रतिशत छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कबाट सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो । बैङ्कहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन् ।
लामो समयदेखि नै बैङ्कहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैङ्कहरूको ब्याजदर घटिरहेको छ । हाल बैङ्कहरूसँग करिब १३ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ । कर्जा नगएपछि पछिल्लो समय बैङ्कहरूले तीन प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैङ्कमा लगेर पैसा राखिरहेका छन् ।
अहिले बैङ्क तथा वित्तीय संस्थाहरूसँग ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका छन् । मासिक रूपमा दुई खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेकोले पनि बैङ्कहरूमा निक्षेप बढेको हो ।














