काठमाडौं। नेपालकी नम्बर एक टेनिस खेलाडी शिभाली गुरुङले मलेसियाको पेनाङमा सम्पन्न तेस्रो पेनाङ जे-३० आइटीएफ विश्व टेनिस टुर जुनियर्स प्रतियोगितामा दोहोरो स्वर्ण पदक जित्न सफल भएकी छिन्। शिभालीलाई भाटभटेनी सुपर मार्केटले प्रायोजन गरेको छ।

भाटभटेनी सुपर मार्केटसहित यसअन्तर्गत रहेका डिर्क एन्ड ब्रोन एन्ड टिप्को, इन्फिनिटी, पेपे पिज्जा र भाटभटेनी होल्डिङ्सले उनलाई संयुक्त रूपमा सहयोग गरेका हुन्। सम्झौताअनुसार भाटभटेनीले शिभालीको प्रतियोगितादेखि वैदेशिक भ्रमण सम्मको खर्च बेहोर्नेछ, जसले उनको खेललाई अझ उत्कृष्ट बनाउन मद्दत पुग्ने भाटभटेनीको विश्वास छ।
पेनाङमा जुन ९ देखि १४ तारिखसम्म सञ्चालन भएको प्रतियोगिताको जुनियर गर्ल्स सिङ्गल्स फाइनलमा शिभालीले फिलिपिन्सकी जाना जेलिना निकोल डाइजलाई पराजित गर्दै उपाधि जितेकी हुन्। यसअघि उनले क्वार्टरफाइनलमा कोरियाकी रेई योन किम र सेमिफाइनलमा चीनकी यानी क्वीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेकी थिइन्। त्यसैगरी, गर्ल्स डबल्सतर्फ पनि शिभालीले फिलिपिन्सकी उनै जाना जेलिनासँग जोडी बनाएर प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जित्न सफल भइन् र प्रतियोगितामा दोहोरो उपाधि आफ्नो नाममा गरिन्।
शिभाली गुरुङ एसियाली टेनिसको आइटीएफ सर्किटमा आफ्नो बलियो प्रभाव जमाउन सफल उदयमान खेलाडी हुन्। पेनाङमा उनले जुनियरतर्फ नम्बर एक वरीयताको हैसियतमा सहभागिता जनाएकी थिइन् र दुईवटा स्वर्ण पदक जित्दै आफ्नो शीर्ष वरीयतालाई कायम राख्न सफल भइन्।
नेपाल टेनिस सङ्घले जारी गरेको नयाँ वरीयतामा कुल २८० अङ्क प्राप्त गर्दै शिभाली नेपाली टेनिसको शीर्ष स्थानमा उक्लिएकी हुन्। यो सिजनमा उनले सिटिजन्स बैङ्क ओपन, पोखरा ओपन र मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई टेनिसको उपाधि जितेर आफ्नो दबदबा कायम राखेकी छिन्।
१४ वर्षीया शिभालीले गत जनवरीमा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न अस्ट्रेलियन ओपनअन्तर्गत ‘एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी’ मा सहभागी बन्दै नयाँ इतिहास रचेकी थिइन्। उक्त प्रतियोगितामा मिश्रित प्रदर्शन गरेकी उनले कुल ५ खेलमध्ये २ मा जित र ३ खेलमा पराजय भोगिन्। समूह चरणको खेलमा उपविजेता बन्दै सेमिफाइनलसम्म पुगेकी उनी अस्ट्रेलियाकी मुसेम्मा सिलेकसँग पराजित भएपछि फाइनल पुग्नबाट रोकिएकी थिइन्।
यसअघि ६ महिना अगाडि पोखरामा आयोजित ‘वर्ल्ड टेनिस टुर जे-३०’ को सर्किट-१ मा गर्ल्सतर्फ दोहोरो उपाधि जित्दै उनले सबैभन्दा कम उमेरमा आइटीएफ जे-३० प्रतियोगिता जित्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी थिइन्। १३ वर्षकै उमेरमा यु-१८ नेपाल च्याम्पियनसिपको उपाधि जितिसकेकी शिभालीले आइटिएफ वर्ल्ड टेनिस टुर जे-३० को फाइनलसम्म पुगेर नेपाली टेनिसमा आफ्नो दाबेदारीलाई निरन्तर बलियो बनाउँदै आएकी छिन्।














