Logo
Logo

फिफा विश्वकपः उपाधि रक्षाको अभियानमा अर्जेन्टिना, नजर जादुगर मेस्सीमा


441
Shares

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियाको सामना गर्दा विश्वभरका फुटबलप्रेमीको नजर सुपरस्टार कप्तान लियोनल मेस्सीमै केन्द्रित हुनेछ ।

The current image has no alternative text. The file name is: messi.jpg

वर्तमान विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडी तथा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउने नायक मेस्सी मैदानमा खेलाडी मात्र नभई एक जादुगरका रूपमा देखिँदै आएका छन् ।

अल्जेरियाविरुद्ध मैदान उत्रँदा मेस्सीले फुटबल इतिहासमा थुप्रै नयाँ कीर्तिमानहरू आफ्नो नाममा लेख्नेछन् । उनी लगातार ६ वटा फिफा विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडी बन्नेछन् भने विश्वकपमा सर्वाधिक २६ खेल खेलिसकेका मेस्सीका लागि यो २७औँ उपस्थिति हुनेछ।

यसका साथै ला अल्बिसेलेस्टेका लागि यो उनको २००औँ अन्तर्राष्ट्रिय खेल हुनेछ र अर्जेन्टिनाको जर्सीमा यो कोसेढुङ्गा पार गर्ने उनी पहिलो खेलाडी बन्नेछन् ।

मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फेरि एकपटक विश्वकप जित्ने लक्ष्यसहित अल्जेरियाविरुद्ध सुखद सुरुवात गर्दै उपाधि अभियान थाल्ने दाउमा छ ।

समूह जेमा रहेका अर्जेन्टिना र अल्जेरियाबिचको यो रोमाञ्चक भिडन्त नेपाली समय अनुसार मंगलबार बिहान ६ः४५ बजे सुरु हुनेछ।

फिफा वरीयताको शीर्ष स्थानमा रहेको अर्जेन्टिना यस पटक इटाली र ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने ऐतिहासिक लक्ष्यमा छ ।

चार वर्षअघि कतार विश्वकपमा उपाधि जित्दै अर्जेन्टिनाले ३६ वर्षको खडेरी त तोड्यो, तर उद्घाटन खेलमै एसियाली राष्ट्र साउदी अरेबियासँग अप्रत्याशित हार बेहोर्नुपरेको थियो । त्यो पराजय अर्जेन्टिनाका लागि एउटा बलियो पाठ बन्यो, जसका कारण बाँकी खेलहरूमा सुधार गर्दै टोली च्याम्पियन बनेको थियो। त्यसैले, वरीयताको २८औँ स्थानमा रहेको अल्जेरियालाई अर्जेन्टिनाले यस पटक हल्का रूपमा लिने गल्ती गर्ने छैन ।

अर्जेन्टिना लगातार १४औँ र समग्रमा १९औँ पटक विश्वकप खेल्दैछ। प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिना पछिल्लो समय उत्कृष्ट लयमा छ र टोलीले आफ्ना पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलहरूमा अपराजित यात्रा कायम राखेको छ।

प्रतिक्रिया दिनुहोस्