
काठमाडौं । फुटबल इतिहासकै महान् खेलाडी लियोनल मेस्सीले विश्वकपमा कीर्तिमानको वर्षा गरेका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को उद्घाटन खेलमा मेस्सीले कीर्तिमानको वर्षा गरेका हुन् । उनले अल्जेरियाविरुद्ध ऐतिहासिक ह्याट्रिक गर्दै साबिक विजेता अर्जेन्टिनालाई ३-० को सानदार जित समेत दिलाए ।
अमेरिकाको कान्सास सिटीस्थित ‘जीईएचए फिल्ड एट एरोहेड स्टेडियम’ मा बुधवार भएको खेलमा मेस्सीले खेलको १७ औँ, ६० औँ र ७६ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका हुन् ।
३८ वर्षको उमेरमा ह्याट्रिक पूरा गर्दै उनी विश्वकप इतिहासमै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । साथै, यो खेल मैदानमा ओर्लने बित्तिकै उनी लगातार छ वटा फरक९फरक विश्वकप (सन् २००६ देखि २०२६ सम्म) खेल्ने विश्वकै पहिलो खेलाडी समेत बनेका छन् ।
खेलको ८० औँ मिनेटमा मैदानबाट बाहिरिनुअघि मेस्सीले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोसको नाममा रहेका दुई ठूला विश्वकीर्तिमानहरू समेत बराबरी गरे ।
क्लोसको विश्वकीर्तिमान बराबरी : यस खेलअघि १३ गोल गरेका मेस्सीले ह्याट्रिक गरेसँगै विश्वकपमा उनको कुल गोल सङ्ख्या १६ पुगेको छ । यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोसको सर्वकालीन सर्वाधिक विश्वकप गोलको रेकर्ड बराबरी गरेका छन् ।
सर्वाधिक विश्वकप जितको बराबरी : अल्जेरियाविरुद्धको यो नतिजासँगै मेस्सीले विश्वकपमा कुल १७ खेल जित्ने मिरोस्लाभ क्लोसकै अर्को सर्वकालीन कीर्तिमानसँग पनि बराबरी गर्न सफल भएका छन् ।
सबैभन्दा पाको उमेरमा ह्याट्रिक : ३८ वर्षको उमेरमा तीन गोल गर्दै मेस्सी विश्वकप इतिहासकै सबैभन्दा बुढो उमेरमा ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन् ।
छैटौं विश्वकप खेल्ने पहिलो खेलाडी : मेस्सीको नाममा फुटबल इतिहासमै आधिकारिक रूपमा छ फरक विश्वकप खेल्ने पहिलो खेलाडीको रेकर्ड समेत बनेको छ । उनले आफ्ना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई एक दिनले पछि पार्दै यो कोसेढुंगा पार गरेका हुन् ।
सर्वाधिक खेल र मैदानमा मिनेट : मेस्सीले आफ्नो २७ औँ विश्वकप खेल खेल्दै सर्वाधिक खेलको रेकर्ड राख्न सफल भएका छन् । खेलको ८० औँ मिनेटमा प्रतिस्थापन हुनुअघि उनले विश्वकपमा बिताएको कुल समय दुई हजार ३९४ मिनेट पुगेको छ, जुन इतिहासकै सर्वाधिक हो ।
सर्वकालीन सर्वाधिक गोल योगदान (गोल असिस्ट) : मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल योगदानलाई २४ (१६ गोल र ८ असिस्ट) पुर्याउँदै कीर्तिमानलाई थप बलियो बनाएका छन् । असिस्टतर्फ भने डिएगो म्याराडोना र उनको नाममा अझै ८९८ असिस्टको बराबरी रेकर्ड छ ।














