काठमाडौं । फिफा विश्वकप २०२६ मा डेब्यु गरेको केप भर्डे ऐतिहासिक प्रदर्शन गर्दै समूह ‘एच’ को उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको अफ्रिकन टापु राष्ट्र केप भर्डेले अब राउण्ड अफ ३२ मा साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।

समूह ‘एच’ अन्तर्गत शनिबार बिहान भएको खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै केप भर्डेले ३ अंक जोडेर समूह उपविजेताको स्थान सुरक्षित गरेको हो ।
पहिलो खेलमै पूर्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै अंकको खाता खोलेको केप भर्डेले दोस्रो खेलमा पनि दुई पटकको विजेता उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको थियो ।
अर्कोतर्फ, साविक विजेता अर्जेन्टिना लगातार दुई खेल जित्दै यसअघि नै समूह ‘जे’ को विजेता बनिसकेको छ । अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार जोर्डनसँग खेल्नेछ ।
समूह ‘एच’ को खेल परिणाम आएसँगै समूह ‘के’ को पोर्चुगल, समूह ‘एल’ को इङ्गल्याण्ड र घाना, तथा समूह ‘जी’ को इजिप्ट समूह चरणको अन्तिम खेल खेल्नुअघि नै नकआउट चरणमा छनोट भइसकेका छन् । यस्तै, समूह ‘डी’ मा तेस्रो स्थानमा रहेको पाराग्वे पनि उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणमा पुग्न सफल भएको छ ।
अहिलेसम्म राउण्ड अफ ३२ का १६ मध्ये ८ खेलको समीकरण तय भइसकेको छ ।
जसमा दक्षिण अफ्रिका र क्यानडा, ब्राजिल र जापान, जर्मनी र पाराग्वे, नेदरल्याण्ड्स र मोरक्को, आइभोरी कोस्ट र नर्वे, फ्रान्स र स्वीडेन, तथा सह–आयोजक अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।














