Logo
Logo

रोट टु फाइनल (भिडियो)


63
Shares

काठमाडौं । फिफाको नयाँ नियम, डरलाग्दो समीकरण र विश्वकप इतिहासकै सबैभन्दा खतरनाक ट्विस्ट ! के फुटबलका दुई सर्वकालीन महान् खेलाडी मेस्सी र रोनाल्डोको मैदानमा अन्तिम महाभिडन्त होला ? आखिर कुन टोली कसरी पुग्न सक्छ फाइनल ? कसको बाटो सहज, कसको कठिन ?

फिफा विश्वकप २०२६ समूह चरणको अन्तिम मोडमा पुगेसँगै अब सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ– कुन टोली फाइनलसम्म पुग्न सक्छ ? तर, यो प्रश्नको उत्तर केवल टोलीको शक्ति वा फिफा वरीयताले मात्र दिँदैन । नयाँ ४८ टोलीको ढाँचामा तेस्रो स्थानको समीकरण, समूह विजेता वा उपविजेता बन्ने अन्तर र सम्भावित प्रतिद्वन्द्वी नै च्याम्पियन बन्ने यात्राका सबैभन्दा ठूला निर्धारक बनेका छन् ।

यसपटक नकआउट चरणमा ३२ टोली पुग्ने भएकाले एउटै गल्तीले विश्वकपको यात्रा टुङ्ग्याउन सक्छ । केही टोलीले अपेक्षाकृत सहज बाटो पाउन सक्छन् भने केहीले फाइनल पुग्नुअघि नै तीन–चारवटा विश्व च्याम्पियन टोलीलाई हराउनुपर्ने अवस्था आउन सक्छ । विश्वकपको नकआउटमा ‘ड्र’ पुनः हुँदैन । समूह चरण सकिएपछि सबै टोली निश्चित ब्राकेटमा जान्छन् । त्यसैले समूहमा पहिलो हुने कि दोस्रो हुने भन्ने कुराले पूरा विश्वकपको यात्रा नै बदल्न सक्छ ।

उदाहरणका लागि, कुनै टोली समूह विजेता बन्यो भने उसले पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर अर्थात् तेस्रो स्थानमा रहेको टोली पाउन सक्छ । तर, दोस्रो भयो भने सुरुमै अर्को समूहको विजेतासँग भिड्नुपर्ने हुन सक्छ । त्यसैले समूहको अन्तिम खेलमा धेरै प्रशिक्षकहरूले केवल जित मात्र होइन, सही ब्राकेट रोज्ने रणनीति पनि अपनाइरहेका छन् ।

अर्जेन्टिनाको ‘रोड टू फाइनल’

समूह ‘जे’को विजेता बन्दै नकआउट चरणमा पुगेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सुरुवाती यात्रा केही सहज देखिन्छ । राउन्ड अफ ३२ मा अर्जेन्टिनाले समूह ‘एच’को उपविजेता (उरुग्वे, केप भर्डे वा साउदी अरेबियामध्ये एक)सँग खेल्नेछ, जुन उसका लागि त्यति कठिन चुनौती होइन । त्यसपछि राउन्ड अफ १६ मा स्विट्जरल्यान्ड वा घानाजस्ता टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ ।

सुरुआत सहज देखिएपनि क्वार्टरफाइनलदेखि भने अर्जेन्टिनाको वास्तविक परीक्षा सुरु हुनेछ । त्यहाँ स्पेन वा पोर्चुगलसँग भेट हुने बलियो सम्भावना छ । यदि पोर्चुगलसँग भेट भएमा, यसले विश्व फुटबल प्रेमीहरूलाई लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको ‘अन्तिम विश्वकप भिडन्त’ हेर्ने ऐतिहासिक अवसर समेत दिनेछ ।

त्यसपछिको सेमिफाइनलमा इंग्ल्यान्ड, नेदरल्यान्ड्स वा अमेरिकालाई पन्छाउन सके मात्र अर्जेन्टिनाले जुलाई १९ को फाइनल यात्रा तय गर्नेछ । फाइनलमा ब्राजिल, फ्रान्स वा जर्मनीमध्ये एक प्रतिद्वन्द्वी हुने छ । जहाँ ब्राजिलसँग भेट भए इतिहासकै ठूलो दक्षिण अमेरिकी महाभिडन्त देख्न पाइनेछ भने फ्रान्ससँग परे सन् २०२२ को रोमाञ्चक फाइनलको बदला लिने खेल बन्नेछ ।

फ्रान्सको ‘रोड टू फाइनल’

सन् २०१८ को विजेता र २०२२ को उपविजेता फ्रान्स फेरि एकपटक विश्वकपको बलियो दाबेदार बनेको छ । समूह ‘आई’को विजेता बन्दै नकआउट यात्रा तय गरेमा फ्रान्सको सुरुवाती बाटो केही अनुकूल हुनेछ । राउन्ड अफ ३२ मा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीसँग भिड्दा खेल सहज देखिए पनि नेदरल्यान्ड्स वा बेल्जियमजस्ता टोली परे सुरुमै कडा टक्कर हुन सक्छ । फ्रान्सका लागि वास्तविक संकट भने राउन्ड अफ १६ बाट सुरु हुनेछ, जहाँ जर्मनीसँग भेट हुन सक्छ ।

जर्मनीलाई पन्छाए क्वार्टरफाइनलमा ब्राजिल, नेदरल्यान्ड्स वा मोरक्कोमध्ये एकसँग अर्को महाभिडन्त निश्चित जस्तै छ । यो युरो–लाटिन क्लासिक पार गरेपछि सेमिफाइनलमा इंग्ल्यान्ड, स्पेन वा पोर्चुगलजस्ता युरोपेली पावरहाउसहरू फ्रान्सलाई रोक्न तम्तयार हुनेछन् । यी सबै अग्निपरीक्षा छिचोल्दै जुलाई १९ को फाइनलमा पुगे फेरि एकपटक डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग २०२२ को ऐतिहासिक बदलाको खेल बन्न सक्छ । समग्रमा, जर्मनी, ब्राजिल, इंग्ल्यान्ड र अर्जेन्टिनाजस्ता महाशक्तिहरूलाई लगातार ढालेर मात्र किलियन एमबाप्पेको टोलीले तेस्रो पटक विश्वकपको सुनौलो ट्रफी उचाल्न सक्नेछ ।

पोर्चुगलको ‘रोड टू फाइनल’

पोर्चुगल र उसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पहिलोपटक विश्वकप ट्रफी उचाल्दै इतिहास रच्ने लक्ष्य राखेका छन् । तर, अहिलेसम्म फाइनलसम्म पनि पुग्न नसकेको पोर्चुगलका लागि यो यात्रा निकै कठिन देखिन्छ । हाल समूह ‘के’ को दोस्रो स्थानमा रहेको पोर्चुगलका लागि समूह चरणको अन्तिम खेल केवल एउटा प्रतिस्पर्धा मात्र होइन, भाग्यको फैसला गर्ने वारपारको लडाइँ बन्न सक्छ । पोर्चुगलले समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानको कोलम्बियाको सामना गर्दैछ । यदि पोर्चुगललाई सहज र सुरक्षित रूपमा नकआउट चरणको यात्रा तय गर्नु छ भने उसले कोलम्बियालाई हराएर समूह विजेता बन्नैपर्छ । यदि खेल बराबरीमा रोकियो भने उसको अगाडिको बाटो निकै कठिन हुनेछ ।

यदि पोर्चुगलले कोलम्बियालाई जित्दै समूह विजेता बन्यो भने उसको यात्रा निकै अनुकूल हुनेछ । राउन्ड अफ ३२ मा घाना, स्विट्जरल्यान्ड वा उत्कृष्ट तेस्रो टोली र राउन्ड अफ १६ मा क्यानडा वा बेल्जियमलाई पन्छाउँदै पोर्चुगल क्वार्टरफाइनलमा अर्नेन्टिनासँगको ऐतिहासिक भिडन्ततर्फ अघि बढ्न सक्छ । यदि पोर्चुगलले त्यो कठिन अवरोध पार ग¥यो भने सेमिफाइनलमा इंग्ल्यान्ड, नेदरल्यान्ड्स वा अमेरिकामध्ये कुनै एक टोलीसँग भिड्नुपर्ने सम्भावना छ । यी सबै चुनौती पार गरेपछि मात्र पोर्चुगल जुलाई १९ मा हुने फाइनलमा पुग्नेछ । त्यहाँ सम्भावित प्रतिद्वन्द्वीका रूपमा ब्राजिल, फ्रान्स वा जर्मनीमध्ये कुनै एक टोली उभिन सक्छ । यदि ब्राजिल फाइनलमा पुग्यो भने पाँच पटकको विश्वविजेता र पहिलो विश्वकपको खोजीमा रहेको पोर्चुगलबीच ऐतिहासिक प्रतिस्पर्धा हुनेछ ।

तर, यदि कोलम्बियासँग पराजित भएर पोर्चुगल उपविजेतामै खुम्चियो भने, उसको अगाडि विश्वकप इतिहासकै सबैभन्दा कठिन बाटो हुनेछ । दोस्रो स्थानमा झर्ने बित्तिकै राउन्ड अफ ३२ मै इंग्ल्यान्डले उसको परीक्षा लिनेछ । त्यो पहाड पार गर्न नपाउँदै राउन्ड अफ १६ मा स्पेनको ‘टिकी–टाका’ र क्वार्टरफाइनलमा फ्रान्सजस्तो खतरनाक टिमसँग भेट हुने सम्भावना छ । इंग्ल्यान्ड, स्पेन र फ्रान्सको यो चक्रव्यूह विश्वकपकै सबैभन्दा मुस्किल ‘रोड टू फाइनल’ हुनेछ । त्यसैले कोलम्बिया विरुद्धको खेल पोर्चुगलका लागि केवल ९० मिनेटको प्रतिस्पर्धा होइन, अस्तित्व जोगाउने अन्तिम लडाईं हो ।

ब्राजिलको ‘रोड टू फाइनल’

समूह ‘सी’को विजेता ब्राजिलले उपाधितर्फको यात्रा जापानसँगको राउन्ड अफ ३२ को भिडन्तबाट सुरु गर्नेछ । जापानको तीव्र ‘काउन्टर अट्याक’ सुरुवाती चुनौती बने पनि ब्राजिलको वास्तविक संकट त्यसपछि सुरु हुनेछ । राउन्ड अफ १६ मा नेदरल्यान्ड्स वा मोरक्कोसँग भेट हुन सक्छ, जहाँ डच टोली परे यो खेल क्वार्टरफाइनल सरहकै रोमाञ्चक बन्नेछ । यो चरण पार गरे पनि क्वार्टरफाइनलमा जर्मनी वा फ्रान्सजस्ता युरोपेली महाशक्तिहरू ब्राजिललाई रोक्न तम्तयार हुनेछन् ।

यदि ब्राजिलले यी सबै कठिन परीक्षा पार ग¥यो भने सेमिफाइनलमा इंग्ल्यान्ड वा घरेलु टोली अमेरिकाको सामना गर्नुपर्ने हुन सक्छ । यो कठोर यात्रा छिचोल्दै जुलाई १९ को फाइनलमा पुगे डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, स्पेन वा पोर्चुगलमध्ये एकसँग ऐतिहासिक भिडन्त निश्चित छ । विशेष गरी फाइनलमा अर्जेन्टिना भेटिए त्यो विश्व फुटबल इतिहासकै सबैभन्दा ठूलो महासंग्राम हुनेछ । समग्रमा, जापानदेखि अर्जेन्टिनासम्मका महाशक्तिहरूलाई लगातार ढालेर मात्र ब्राजिलले छैटौँ पटक विश्वकप उचाल्न सक्नेछ ।

स्पेनको ‘रोड टू फाइनल’

युरोपेली च्याम्पियन स्पेन यस विश्वकपको सबैभन्दा सन्तुलित र प्राविधिक टोली मानिएको छ । समूह विजेता बन्दै नकआउटमा पुगेमा स्पेनको सुरुवाती बाटो अनुकूल बन्नेछ । राउन्ड अफ ३२ मा उपविजेता वा उत्कृष्ट तेस्रो टोलीसँग खेल्दा सहज देखिए पनि नयाँ ढाँचाका कारण सुरुआती चरणलाई नै हल्का रूपमा लिन सकिने अवस्था छैन । स्पेनको वास्तविक अग्निपरीक्षा भने क्वार्टरफाइनलबाट सुरु हुनेछ, जहाँ डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना वा पोर्चुगलसँग भेट हुने बलियो सम्भावना छ ।

यो ठूलो अवरोध पार गरेमा सेमिफाइनलमा इंग्ल्यान्ड, नेदरल्यान्ड्स वा अमेरिकासँग भेट हुन सक्छ । यी सबै चुनौती छिचोल्दै जुलाई १९ को फाइनलमा पुगे ब्राजिल, फ्रान्स वा जर्मनीमध्ये एक टोली उपाधि रक्षाका लागि अगाडि उभिनेछ । समग्रमा, अर्जेन्टिना, इंग्ल्यान्ड र ब्राजिल वा फ्रान्सजस्ता विश्व फुटबलका महारथीहरूलाई लगातार स्तब्ध पारेपछि मात्र स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकपको सुनौलो ट्रफी उचाल्न सक्नेछ ।

सबैभन्दा ठूलो ‘फ्याक्टर’ तेस्रो स्थान

यस विश्वकपको सबैभन्दा जटिल पक्ष नै तेस्रो स्थान हो । १२ समूहमध्ये उत्कृष्ट आठवटा तेस्रो स्थान हासिल गर्ने टोली पनि नकआउटमा पुग्नेछन् । यसले गर्दा एउटै समूहको नतिजाले पाँच–छ टोलीको ब्राकेट परिवर्तन गर्न सक्छ । फिफाले सम्भावित ४९५ वटा फरक संयोजन सार्वजनिक गरेको छ । त्यसैले अन्तिम समूह खेलअघि कुनै पनि टोलीले आफ्नो प्रतिद्वन्द्वी निश्चित रूपमा भन्न सक्ने अवस्था छैन ।

विश्वकप २०२६ मा सबैभन्दा बलियो टोली मात्र होइन, सबैभन्दा बुद्धिमानी रूपमा ब्राकेट पार गर्ने टोली च्याम्पियन बन्ने सम्भावना बढी छ । समूह चरणको अन्तिम खेलमा एक गोल, एक बराबरी वा एक स्थानको अन्तरले पूरै नकआउट यात्रा बदल्न सक्छ । यही कारण यस संस्करणको विश्वकपलाई रणनीति, गणित र मानसिकताको विश्वकप पनि भनिएको छ । उपाधि उचाल्न अब केवल उत्कृष्ट फुटबल खेलेर मात्र पुग्दैन, सही समयमा सही प्रतिद्वन्द्वी भेट्नु पनि उत्तिकै निर्णायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्