काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा उज्बेकिस्तानलाई हराउँदै कङ्गो डीआर नकआउट चरणमा प्रवेश गरेको छ । सुरुमै गोल खाएर पछि परेको अवस्थालाई उल्टाउँदै कङ्गोले अन्तिम समयमा कमब्याक गर्दै ३–१ गोलअन्तरको जित निकालेको हो ।

खेलको १० औँ मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा कङ्गो पेनाल्टीको मौका पायो । जसलाई योवान विसाले उज्बेकिस्तानको गोलपोस्टमा सजिलै प्रहार गरेर खेललाई बराबरीमा ल्याए ।
त्यसको १० मिनेटपछि ७८ औँ मिनेटमा फिस्टन मायेलेले अर्को गोल थपेर कंगोलाई अग्रता दिलाए । यस्तै अन्तिमतिर इन्जुरी समयमा योवान विसाले नै अर्को गोल गरेर कंगोलाई ३–१को स्थितिमा पुर्याए । त्यही खेलको अन्तिम नतिजा कायम भयो ।
यो जितसँगै कङ्गोले समूह ‘के’ ४ अङ्कसहित तेस्रो रह्यो । जुन उत्कृष्ट तेस्रोमध्ये पर्दै नकआउट चरण पुग्न पर्याप्त थियो । यसरी ५२ वर्षपछि विश्वकप खेलेको कङ्गो पहिलो पटकमै नकआउट पुगेको छ । यो समूहकै अर्को खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले । जसले कोलम्बिया ७ अङ्कसहित समूह विजेता बन्दा पोर्चुगल ५ अङ्कसहित उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।














