Logo
Logo
फिफा विश्वकपः नकआउटको महासंग्राम

फाइनलमा होला त मेस्सी रोनाल्डोको भेट ? 


126
Shares

The current image has no alternative text. The file name is: 2083-03-14-World-Cup-Knockout-Charan-THUMBNAIL.jpg

फुटबलको वास्तविक महाकुम्भ त अब सुरु हुँदै छ । अब दायाँबायाँ गर्ने समय सकियो, मैदानमा कि त ‘इतिहास’ लेखिनेछ, कि त सिधै ‘घरको टिकट’ काटिनेछ । राउन्ड अफ ३२ मा कसको भिडन्त कोसँग हुँदै छ ? के फाइनलमा मेस्सी र रोनाल्डोको भेट होला त ?

उत्तर अमेरिकाका तीन देश ९अमेरिका, मेक्सिको र क्यानडा०मा जारी फिफा विश्वकप २०२६ को समूह चरणको महासंग्राम सकिएसँगै ‘राउण्ड अफ ३२’को रोचक समीकरण पूरा भएको छ । आइतबार बिहान साबिक विजेता अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरियाबीचको खेल टुङ्गिएसँगै नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको हो । इतिहासमै पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दा समूह चरणमै अहिलेसम्मकै धेरै ७२ खेल भए, जसले फुटबलप्रेमीलाई भरपुर मनोरञ्जन दियो । यो नयाँ संरचना अनुसार १२ समूहका विजेता र उपविजेता २४ टोलीसँगै उत्कृष्ट तेस्रो बन्न सफल ८ टोलीले नकआउटको यो नयाँ खुड्किलोमा पाइला टेकेका हुन् ।

यसपटकको विश्वकप मैदानमा केही अप्रत्याशित ट्वीस्ट र ऐतिहासिक क्षणहरू देखिए । साबिक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन, जर्मनी र इंग्ल्यान्ड जस्ता परम्परागत पावरहाउसहरूले शानका साथ अघिल्लो यात्रा तय गर्दा दुई पटकको पूर्व विजेता उरुग्वे भने जितविहीन बन्दै समूह चरणबाटै घर फर्कन बाध्य भयो । अर्कोतर्फ, घरेलु मैदानको फाइदा उठाउँदै तीनवटै सह–आयोजक देश (अमेरिका, मेक्सिको र क्यानडा) नकआउटमा पुग्न सफल भए । त्यसमा पनि पहिलो पटक सह–आयोजक बनेको क्यानडाले घरेलु दर्शकमाझ इतिहास रच्दै विश्वकपमा पहिलो जित र पहिलो अंक मात्र जोडेन, पहिलो पटक नकआउटको यात्रा समेत तय ग¥यो ।

नयाँ र पुनरागमन गर्ने टोलीहरूका लागि पनि यो विश्वकप सम्झनायोग्य रह्यो । नर्वे, बोस्निया एण्ड हर्जगोभिना र दक्षिण अफ्रिकाले बलियो पुनरागमन गर्दा अफ्रिकी जाइन्ट आइभरी कोस्टले पहिलो पटक नकआउटको स्वाद पायो । सबैभन्दा ठूलो आश्चर्य त विश्वकपमा डेब्यु गरेको केप भर्डेले देखायो, जो समूह चरणमा अपराजित रहँदै अगाडि बढ्यो । यद्यपि, अन्य डेब्यु गर्ने टोलीहरू कुरासाओ, उज्वेकिस्तान र जोर्डनको यात्रा भने जितविहीन बन्दै समूह चरणमै टुङ्गियो । तेस्रो स्थानमा रहेर पनि उत्कृष्ट प्रदर्शनका आधारमा भाग्य चम्काउने टोलीहरूमा डिआर कंगो, स्वीडेन, घाना, इक्वेडर, बोस्निया, पाराग्वे, सेनेगल र अल्जेरिया परे, जबकि समान अंक भएर पनि गोल अन्तरमा पछि पर्दा इरान, दक्षिण कोरिया र स्कटल्यान्ड अभागी सावित भए ।

महादेशीय दबदबाको कुरा गर्दा यसपटक युरोप र अफ्रिकाले मैदानमा राज गरेका छन् । १६ मध्ये १२ टोली सुरक्षित गर्दै युरोपले आफ्नो बर्चस्व कायमै राख्यो भने अफ्रिकाका १० मध्ये ९ टोलीले नकआउट चरणमा प्रवेश गरेको छ । 

दक्षिण अमेरिकाबाट ६ मध्ये ५ टोली अगाडि बढ्दा उरुग्वे मात्रै अभागी बन्यो । उत्तर अमेरिकाबाट आयोजक तीन देश मात्रै अगाडि बढे । विश्वपकमा खेल्ने एसियाको कोटा बढेर ९ पुगे पनि नकआउटमा भने एसियन पावरहाउस जापान र अस्ट्रेलिया मात्रै पुग्न सके । सुरुवाती राम्रो गरेपनि दक्षिण कोरिया र इरान अगाडि बढ्न सकेनन् । ओसियानाको एकमात्र प्रतिनिधि न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरियो ।

अब सुरु हुने ’राउण्ड अफ ३२’ को यो भिडन्त “गर या मर“ को स्थितिमा हुनेछ, जहाँ हार्ने टोली सिधै घर फर्कनेछ र जित्नेले अन्तिम १६ को यात्रा तय गर्नेछ । यसर्थ अबका हरेक खेल फाइनल जत्तिकै रोमाञ्चक र तनावपूर्ण हुने निश्चित छ । 

राउण्ड अफ ३२ मा कसको भिडन्त कोसँग ?

नेपाली समय अनुसार असार १५ गते बिहानदेखि सुरु हुने यो रोमाञ्चक भिडन्त असार २० गतेसम्म चल्नेछ । नकआउट चरण भएकाले यसमा पराजित हुने टोली सिधै प्रतियोगिताबाट बाहिरिनेछन् । खेल तालिका अनुसार असार १५ गते बिहान १२ः४५ बजे दक्षिण अफ्रिका र घरेलु टोली क्यानडाबीचको खेल सम्पन्न भएको छ । जसमा  क्यानडा विजयी भएको छ । आज राति १०ः४५ बजे समूह सी को विजेता ब्राजिलले जापानको सामना गर्नेछ । असार १६ गते मंगलबार तीन खेलहरू हुनेछन्, जसमा बिहान २ः१५ बजे जर्मनी र पाराग्वे, बिहान ६ः४५ बजे नेदरल्यान्ड्स र मोरक्को तथा राति १०ः४५ बजे आइभरी कोस्ट र नर्वे आमनेसामने हुनेछन् ।

असार १७ गते बुधबार बिहान २ः४५ बजे फ्रान्सले स्वीडेनसँग खेल्नेछ भने बिहान ६ः४५ बजे अर्को आयोजक मेक्सिकोले इक्वेडरको सामना गर्नेछ । सोही दिन राति ९ः४५ बजे इंग्ल्यान्ड र डीआर कंगोबीच प्रतिस्पर्धा हुनेछ । असार १८ गते बिहीबार बिहान १ः४५ बजे बेल्जियम र सेनेगल तथा बिहान ५ः४५ बजे तेस्रो आयोजक टोली अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच भिडन्त हुने तय भएको छ ।

असार १९ गते शुक्रबार सर्वाधिक चार खेलहरू हुनेछन् । सो दिन बिहान १२ः४५ बजे स्पेन र अस्ट्रिया, बिहान ४ः४५ बजे पोर्चुगल र क्रोएसिया, बिहान ८ः४५ बजे स्वीट्जरल्यान्ड र अल्जेरिया तथा राति ११ः४५ बजे अस्ट्रेलिया र इजिप्टबीच खेल हुनेछ । यसैगरी, ’राउण्ड अफ ३२’ को अन्तिम दिन असार २० गते शनिवार बिहान ३ः४५ बजे साबिक विजेता अर्जेन्टिनाले केप भर्डेको सामना गर्नेछ भने बिहान ७ः१५ बजे कोलम्बिया र घानाबीचको खेलसँगै यस चरणका सम्पूर्ण खेलहरू समाप्त हुनेछन् । यस चरणमा विजयी हुने १६ टोलीहरू प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । 

फाइनलमा होला त मेस्सी रोनाल्डोको भेट ?
 
फिफा विश्वकप सुरु हुनुअघि संसारभरका फुटबलप्रेमीको एउटै ढुकढुकी थियो– के यो महाकुम्भमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आमनेसामने होलान् रु कीर्तिमानी छैटौँ पटक विश्वकप खेलिरहेका यी दुई लिजेन्डबीचको महाभिडन्त हेर्न करोडौँ प्रतीक्षारत थिए । यदि अर्जेन्टिना र पोर्चुगल आ–आफ्नो समूहको विजेता बनेको भए क्वाटरफाइनलमै यो ’ड्रिम म्याच’ सम्भव थियो । 

तर, पोर्चुगलले आफ्नो अन्तिम खेलमा कोलम्बियासँग बराबरी खेल्दा यो सुनौलो सम्भावना तत्कालका लागि टरेको छ । मेसीको अर्जेन्टिना समूह ’जे’ को विजेता बन्दा रोनाल्डोको पोर्चुगल भने समूह ’के’ को उपविजेतामा चित्त बुझाउन बाध्य भयो, जसले गर्दा यी दुई टोली अब नकआउटको फरक–फरक दिशा तिर मोडिएका छन् । 

अब यो विश्वकपमा ’मेसी भर्सेस रोनाल्डो’ को ऐतिहासिक टक्कर हेर्नका लागि केवल एउटै मात्र बाटो बाँकी छ– त्यो हो फाइनल । यदि दुवै टोलीले नकआउटका आ–आफ्ना चारवटै खेलमा विपक्षीलाई धूल चटाउँदै अघि बढे भने मात्र उपाधि भिडन्तमा यी दुई महारथीको भेट हुनेछ । के यी दुई महानायकले विश्वकपको फाइनललाई नै आफ्नो खेलजीवनको अन्तिम र सबैभन्दा ठूलो रणभूमि बनाउलान् रु त्यसका लागि अब दुवै टोलीले जादुमयी यात्रा तय गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्