काठमाडौं । सुलभ अग्रवाल र उनको परिवार सम्पत्ति शुद्धिकरण लगायतका वित्तीय अपराधमा मुछिएपछि विभिन्न बैकको १ खर्ब ४ अर्ब ऋण जोखिममा परेको छ । वित्तीय अनियमितता, धितोपत्र, बैंकिङ, बीमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुलभ अग्रवा र शाहिल अग्रवाल तथा दीपक भट्टहरु मुछिएपछि रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले १८ कम्पनीको क्रेडिट रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखेर जोखिम रहेको संकेत गरेको हो ।

स्रोतका अनुसार एजेन्सीले जुन २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीका प्रवद्र्धक तथा सञ्चालकहरूमाथि जारी वित्तीय अनुसन्धान र कानुनी कारबाहीका कारण उनीहरूको प्रतिष्ठामा पर्न सक्ने असर तथा त्यसको कम्पनीहरूमा पर्न सक्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको हो । जसले गर्दा १८ कम्पनीले लिएको ऋण र ती कम्पनीलाई ऋण दिने बैकहरुको समेत ‘वाच’मा रहेका छन् ।
इन्फोमेरिक्सले नेगेटिभ वाचमा राखेका १८ मध्ये १५ कम्पनीले करिब १ खर्ब ४ अर्ब ३० करोड ३२ लाख रुपैयाँ ऋण सुविधाका लागि रेटिङ प्राप्त गरेका छन् । बाँकी तीन कम्पनीको ‘इस्युअर रेटिङ’ तथा गुणस्तर मूल्यांकनलाई पनि नेगेटिभ इम्प्लिकेसनमा राखिएको छ ।
गत जेठ २८ गते सरकारी वकिल कार्यालयले धितोपत्र, बीमा, बैंकिङ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभिन्न व्यावसायिक घरानासँग सम्बन्धित व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत तथा विशेष अदालतमा दर्ता भएका ती मुद्दामा कुल १६७ जना प्रतिवादी बनाइएका छन् । जसमध्ये धितोपत्रतर्फ ८१ जना, बीमातर्फ ४२ जना, सम्पत्ति शुद्धीकरणतर्फ ३९ जना र बैंकिङ कसुरतर्फ पाँच जना रहेका छन् ।
नेगेटिभ वाचमा परेका अधिकांश कम्पनीहरू उद्योगी सुलभ अग्रवालसँग सम्बन्धित समूहका हुन् । ती कम्पनीमा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल तथा जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवालको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेको छ। सबैभन्दा ठूलो ऋण सुविधा भएको जगदम्बा स्टिल्स लिमिटेडको ३३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको रेटिङ निगरानीमा राखिएको छ ।
त्यस्तै शौर्य सिमेन्ट इन्डस्ट्रिजको १४ अर्ब ८७ करोड रुपैयाँ, रिद्धि सिमेन्ट इन्डस्ट्रिजको ११ अर्ब ९३ करोड रुपैयाँ, लिट्मस इन्डस्ट्रिजको ८ अर्ब ६७ करोड रुपैयाँ तथा गणपति वनस्पतिको ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको ऋण सुविधाको रेटिङ पनि नेगेटिभ वाचमा परेको छ ।
यसैगरी जगदम्बा मोटर्सको ५ अर्ब ९८ करोड रुपैयाँ, जगदम्बा हस्पिटालिटी ग्रुपको ५ अर्ब ३० करोड रुपैयाँ, रामजानकी हाइड्रोपावरको ५ अर्ब २५ करोड रुपैयाँ, वेदांशी इन्फ्रास्ट्रक्चरको ३ अर्ब ५० करोड रुपैयाँ तथा टेली डाइरेक्टको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण रेटिङलाई पनि निगरानी सूचीमा राखिएको छ ।
अन्य प्रभावित कम्पनीमा जगदम्बा अटो ग्रुप, जगदम्बा मोबाइल्स, जगदम्बा हायर पर्चेज, जगदम्बा फ्लोर एन्ड एग्रो, टेलिटक प्रालि, हुलास फिनसर्भ हायर पर्चेज, हिमालयन लाइफ इन्स्योरेन्स तथा हिमालयन इन्भेस्टमेन्ट बैंकर रहेका छन् । यी सबै कम्पनीहरु शंकर ग्रुपसँग सम्बन्धित रहेका छन् ।
शंकर ग्रुपका सदस्यहरु र दीपक भट्टको मिलेमतोका कारण धेरै वटा बैक तथा वित्तिय संस्थाहरु टाट पल्टिने संभावना रहेको वित्तिय क्षेत्रका जानकारहरु दावी गर्छन ।














