काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा नेदरल्यान्ड्स र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरीमा टुङ्ग्याएका छन् । मेक्सिकोको एस्टाडियो मोन्टेरेमा भइरहेको खेलमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।

मोरक्कोले पहिलो हाफमा केही खतरनाक आक्रमण गरेको थियो। कप्तान अश्रफ हाकिमीको शक्तिशाली प्रहार तथा नाइल एल आयनाउईको प्रयासलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखे ।
यता पहिलो हाफको अन्त्यतिर नेदरल्यान्ड्सले पनि दबाब बढाएको थियो । मिकी भान डे भेनको शक्तिशाली प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बोनोले शानदार ढंगले माथिबाट बाहिर पठाउँदै गोल हुन दिएनन् ।
डच डिफेन्डर यान पाउल भान हेके पहिलो हाफमा टाउकोमा चोट लागेपछि केही समय उपचारमा रहे पनि खेलमा फर्किएका थिए ।
दुवै टोलीले बल नियन्त्रणमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि अन्तिम तेस्रो भागमा प्रभावकारी फिनिसिङ गर्न नसक्दा पहिलो ४५ मिनेट गोलरहित बराबरीमा सकिएको हो । यस खेलको विजेताले अन्तिम १६ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।














