काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा प्रवेश गरेको छ ।
गएराति न्यूयोर्क न्यू जर्सी रङ्गशालामा भएको खेलमा स्वीडेनलाई ३–० गोलअन्तरले हराउँदै फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो । खेलको अधिकांश समय स्वीडेनमाथि हाबी भएको फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे ।

खेलको ४५औं मिनेटमा एम्बाप्पेको गोलबाट सुरुवाती अग्रता लिएको फ्रान्सका लागि ५३औं मिनेटमा ब्राडलीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै, ७४औं मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–० को सहज जित सुनिश्चित ग¥यो। अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन्, जहाँ दुवैको समान ६ गोल पुगेको छ । एम्बाप्पेले अहिलेसम्म विश्वकपमा १८ खेल खेल्दै १८ नै गोल गरिसकेका छन् । यससँगै उनले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै दोस्रो स्थानमा कब्जा जमाएका छन् ।
विश्वकपमा प्रतिखेल १ गोलको औषत राखेका एम्बाप्पे अब सर्वाधिक १९ गोल गरेका मेसीभन्दा मात्र १ गोलले पछि छन् । गएराति नै भएको अर्को खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे पनि अन्तिम १६ मा पुगेको छ । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियालोले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । तर, ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को जित दिलाए। अब अन्तिम १६ को खेलमा नर्वेले ब्राजिलको सामना गर्नेछ । अहिले केहीबेरमा सह–आयोजक मेक्सिको र इक्वेडरबीचको सुरु हुनेछ ।














