Logo
Logo

मेक्सिकोको अपराजित यात्रा: ४० वर्षपछि नकआउट चरणमा ऐतिहासिक जित


0
Shares

काठमाडौं । सह–आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा बुधबार बिहान भएको खेलमा इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।

मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गरे। खेलको २१औं मिनेटमा जुलियनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ३१औं मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। खेलमा बल पोजिसन (बलमाथिको नियन्त्रण) मा इक्वेडर अगाडि रहे पनि गोल गर्न भने सकेन। दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि मेक्सिको घरेलु मैदानमा २–० ले विजयी भयो।

यस खेलसँगै जुलियन विश्वकपका तीन फरक खेलमा गोल गर्ने मेक्सिकोका दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९९८ को विश्वकपमा लुइस हर्नान्डेजले तीन खेलमा गोल गरेर यो कीर्तिमान बनाएका थिए।

यो जितसँगै मेक्सिकोले अज्टेका स्टेडियममा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। साथै, मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो। यसअघि मेक्सिकोले सन् १९८६ को विश्वकपयता नकआउट चरणको कुनै पनि खेल जित्न सकेको थिएन।

मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको थियो। अब क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोले इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्कातर्फ, यस हारसँगै इक्वेडरको विश्वकप यात्रा भने सकिएको छ। पाँचौंपटक विश्वकप खेलिरहेको इक्वेडरले यसपटक दोस्रोपटक समूह चरण पार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्