Logo
Logo

‘डोकोमार्ट’ आउँदै, सुरुमै आकर्षक स्किम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ मंसिर । नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यसहित डोकोमार्ट सञ्चालनमा आउने भएको छ । नेपाली उत्पादनहरुको सबैभन्दा ठूलो ई–कमर्श प्लाटफर्म बन्ने डोकोमार्ट शनिबार लञ्च हुँदैछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले डोकोमार्ट ईकमर्श साइटको लञ्च गर्न लागिएको कम्पनीका प्रमोटर सुवास मल्लले बताए ।
हाल नेपालमा ईकमर्शहरुले मल्टिनेश्नल सामानहरुलाई बढी प्राथमिकता दिइरहेको अवस्थामा अब डोकोमार्टले स्थानीय उत्पादन र आम सर्वसाधारणसम्म पहुँच पुग्ने किसिमले काम गर्न थालिएको उनको भनाइ छ ।
उनले भने, ‘काठमाडौं बाहिरका ग्राहकलाई पनि सेवा दिनुपर्छ भन्ने मनसायले डोकोमार्टको सेवा ल्याएका छौँ, डोकोमार्ट पोखराबाट सुरुवात गरेर पहिलो चरणमा गण्डकी, बागमती र लुम्बिनी प्रदेशलाई बढी फोकस गरी सेवा दिने योजना रहेको छ ।’
उनका अनुसार नेपालको स्थानीय तहमा उत्पादित वस्तुको बजारिकरण तथा सप्लाई गर्ने काम डोकोमार्टले गर्नेछ । डोकोमार्टको लञ्चिङ अवसर पारेर कम्पनीले ग्राहकहरुका लागि विभिन्न स्कीम पनि घोषणा गरेको छ । कम्पनीले डोको मार्टमार्फत डोकोभरि उपहारको बहार लिएर आउने जनाएको छ ।
अनलाइनबाट अर्डर गर्ने पहिलो ८ जना ग्राहकले २७ प्रतिशत छुट, अनलाइनमार्फत पहिलो दिनमा हुने सबै कारोबारमा १० पतिशत छुट, पहिलो हप्ताभर हरेक दिन कुनै विशेष उत्पादनमा विशेष छुट सुविधा, पहिलो महिनाभरमा ५ हजार रुपैयाँ वा सो भन्दा बढिको कारोबार गर्ने सबै ग्राहकलाई विशेष उपहार दिइने लगायतका कम्पनीका स्किमहरु रहेका छन् ।
पहिलो महिनाभर कम्पनीमार्फत कारोबार गर्ने सबै ग्राहकमध्येबाट लक्की–ड्रबाट १ जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार र ग्राहकले गरेको कारोबार रकम बराबरकै छुटसहित विशेष उपहार दिइने बताइएको छ । अहिले कम्पनीले टोकनमा २५ लाखको लगानी गरेको छ । मल्लका अनुसार चालु आर्थिक वर्षभित्रै कम्पनीको कुल पुँजी १ करोड रुपैयाँको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्