Logo
Logo

कसले जित्ला गोल्डेन बुट ?


315
Shares

काठमाडौं । अहिले फिफा विश्वकपको ट्रफी कसले उचाल्ला भन्ने जति चर्चा छ, गोल्डेन बुटको चर्चा पनि त्योभन्दा कम छैन । उपाधिको बहस जति तातिएको छ, गोल्डेन बुट कसले हात पार्ला भन्ने कौतूहलता पनि त्यत्तिकै छ । 

मैदानमा टिमहरू नकआउट हुँदै गइरहेका छन्, तर गोल्डेन बुटको दौड भने झन् झन् रोमाञ्चक बन्दै गएको छ । हरेक खेलसँगै नयाँ हिसाब बन्छ, पुराना अनुमान भत्किन्छ । विश्वकपक इतिहासमै यसपटक जस्तो गोल्डेन बुटका लागि यति धेरै स्टार खेलाडीबीच  प्रतिस्पर्धा पहिले कमै देखिन्थ्यो । अहिले राउन्ड अफ ३२ का खेलहरु जारी छन् । केही टोली घर फर्किसके, तर गोल्डेन बुटका दाबेदार भने अझै आधा दर्जनभन्दा बढी छन् ।

अहिलेको यो दौडमा सबैभन्दा अगाडि फ्रान्सका कप्तान किलियन एम्बाप्पे नै कुदिरहेका छन् । उनले जम्मा ४ खेलमै ६ गोल र २ असिस्टको गरेका छन् । सेनेगल र इराकविरुद्ध दुई–दुई गोल हानेका उनले नर्वेविरुद्ध खाता खोल्न सकेनन्, तर राउन्ड अफ ३२ मा स्वीडेनविरुद्ध फेरि २ गोल गर्दै उनी टपमा उक्लिए ।

अब फ्रान्सको सामना पराग्वेसँग हुँदै छ । कागजमा हेर्ने हो भने त यो फ्रान्सका लागि ’बायाँ हातको खेल’ जस्तै हो । फिफा ¥याङ्किङमै फ्रान्स नम्बर एकमा छ भने पराग्वे ३४औँ स्थानमा  रहेको छ । त्यसैले यो खेलमा एम्बाप्पेले गोलको संख्या अझै बढाए भने कसैले अचम्म नमाने हुन्छ ।

त्यसपछि क्वार्टरफाइनलमा उनको भेट मोरोक्को वा क्यानडामध्ये एकसँग हुन सक्छ । फ्रान्सका लागि यी दुवै टोली त्यस्ता गाह्रो टिम होइनन् । क्वार्टरफाइनलमा जो आए पनि एम्बाप्पेको गोल गर्ने रफ्तार रोक्न हम्मेहम्मे नै पर्ने देखिन्छ । फ्रान्स जतिअघि बढ्छ, एम्बाप्पेको गोलको पारो पनि त्यत्तिकै आकासिने बलियो सम्भावना छ ।

तर, असली परीक्षा भने त्यसपछि सुरु हुनेछ । सम्भावित सेमिफाइनलमा स्पेन, पोर्चुगल, बेल्जियम वा अमेरिकामध्ये एकसँग टक्कर पर्न सक्छ । त्यहाँ स्पेन वा पोर्चुगल आइलागे भने चाहिँ एम्बाप्पेलाई ‘फलामको च्युरा चपाए’ जस्तै हुनेछ । अझ यीमध्ये स्पेन मात्रै यस्तो टोली हो, जसले एम्बाप्पेलाई साँच्चिकै रोक्ने दम राख्छ । बलियो मिडफिल्ड, चट्टानी डिफेन्स र दबाब झेल्ने गज्जबको क्षमता नै स्पेनको सबैभन्दा ठूलो हतियार हो । तर, फेरि स्पेन नै त्यहाँसम्म आइपुग्छ भन्ने ग्यारेन्टी पनि छैन । 

एम्बाप्पेको अर्को खतरनाक बानी के हो भने, उनी ठूला खेलहरूमा झन् भयानक रूपमा प्रस्तुत हुन्छन् । २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक ठोकेका उनै उम्बाप्पेलाई कुनै पनि डिफेन्सले हल्का रूपमा लिने गल्ती गर्नै सक्दैन । फ्रान्स फाइनलसम्म पुग्यो भने गोल्डेन बुट धेरै हदसम्म उनकै पोल्टामा पर्ने पक्काजस्तै छ ।

तर एम्बाप्पेको यो रफ्तारलाई ब्रेक लगाउन सक्ने र उनलाई कडा टक्कर दिने एउटै नाम हो– लियोनल मेस्सी । मेस्सीको खातामा पनि ६ गोल त छ, तर असिस्ट नभएकाले मात्र उनी एम्बाप्पेभन्दा तल दोस्रो स्थानमा चित्त बुझाइरहेका छन् । यहाँ मेस्सीको सबैभन्दा ठूलो प्लस प्वाइन्ट के छ भने, उनले एम्बाप्पेभन्दा एक खेल कम खेलेका छन् । त्यसैले अब हुने केप भर्डेविरुद्धको खेलपछि उनी एक्लै शीर्ष स्थानमा राज गर्न पनि सक्छन् ।

सुरुवाती यात्रामा मेस्सीको बाटो पनि त्यति गाह्रो देखिन्न । पहिले केप भर्डे, त्यसपछि इजिप्ट वा अस्ट्रेलियासँग जम्काभेट हुन सक्छ । यी टोलीहरूविरुद्ध फुटबलका जादुगर मेस्सीले गोलको वर्षा गर्न सक्दैनन् भन्नु मूर्खता होला । समूह चरणमै अल्जेरियाविरुद्ध ह्याट्रिक हानेका मेस्सीले अस्ट्रियाविरुद्ध २ र जोर्डनविरुद्ध १ गोल ठोकिसकेका छन् । अब केप भर्डेविरुद्धको खेलमा उनले मात्र १ गोल गरे भने पनि सिधै नम्बर वानको कुर्सीमा बस्नेछन् । 

तर, असली महाभारत भने क्वार्टरफाइनलबाट सुरु हुनेछ, जहाँ सम्भावित प्रतिद्वन्द्वी कोलम्बिया हुन सक्छ । कोलम्बिया कति खतरनाक टोली हो भन्ने कुरा उसले समूह चरणमै देखाइसकेको छ । यो त्यही टोली हो जसले पोर्चुगलको सातो उडाएको थियो १ 

कोलम्बियालाई हटाएर बढेका अर्जेन्टिनाको अगाडि ब्राजिल वा इंग्ल्यान्ड उभिनेछ । अनि फाइनलमा पुगे फेरि फ्रान्स, स्पेन वा पोर्चुगल तयार हुनेछन् । अर्थात्, मेस्सीका लागि गोल्डेन बुटको बाटो फूलै फूलको छैन ।

तर मेस्सीलाई कमजोर सोच्ने गल्ती कसैले नगरे हुन्छ । अनेकौँ हारले उनलाई बलियो बनाएको छ भने आलोचनाले झन् मैदानमा आगो ओकल्न सिकाएको छ । सन् २०१६ मा कोपा अमेरिकाको उपाधि गुम्दा निराश भएर उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा नै गरिदिएका थिए । तर, देशको मायाले उनलाई मैदानमा फर्काएरै छाड्यो । उनलाई फकाउन अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्री आफैँले भेटेर आग्रह गरेका थिए ।

मैदानमा फर्किएपछि त मेस्सीले अर्जेन्टिनालाई लगातार उपाधिको ओइरो नै लगाइदिए । २०२० र २०२४ को कोपा अमेरिका होस् या २०२२ को ऐतिहासिक विश्वकप– मेस्सीले सबै सोहोरे । उनको करिअरमा फुटबलका सबै ट्रफी छन्, मात्र एउटै चिजको खडेरी छ– त्यो हो विश्वकपको गोल्डेन बुट १ र, त्यो उपाधि पनि जित्ने चाहाना मेस्सीको नहोला र रु 

आफ्ना कप्तानलाई यो अवार्ड जिताउन अर्जेन्टिनाका बाँकी खेलाडीहरू पनि मैदानमा ज्यान फाल्न तयार छन् । टोलीका हरेक सदस्य मेस्सीका लागि गोलको अवसर बनाउन मरिहत्ते गरिरहेका छन् । त्यसैले त, मेस्सी यो दौडको अन्तिम बिन्दुसम्म टिक्ने सम्भावना एकदमै बलियो छ ।

यता इङ्ल्यान्डका ह्यारी केन पनि कहाँ चुप लागेर बस्थे र १ डीआर कंगोविरुद्ध दुई गोल ठोक्दै उनले आफ्नो कुल गोल संख्या पाँच पु¥याइसकेका छन् । तर उनको अगाडिको बाटो भने काँडेतारजस्तै हिँडिनसक्नु छ । अबको भिडन्त मेक्सिकोसँग छ । कंगोसँग झण्डै पछारिएको इङ्ल्यान्डले मेक्सिकोलाई कम आँक्ने गल्ती त कत्ति पनि गर्ने छैन, त्यसमाथि मेक्सिकोले अहिलेसम्म एउटै गोल खाएको छैन ।

त्यसपछि सम्भावित ब्राजिल र अर्जेन्टिनाको ठूलो पहाड तेर्सिनेवाला छ । त्यसैले केनले दोस्रो पटक गोल्डेन बुट उचाल्ने सपना इङ्ल्यान्डको यात्रा कति लामो हुन्छ भन्नेमै अड्किएको छ ।

नर्वेका गोल मेसिन अर्लिङ हालान्डको पनि पाँच गोल त भइसकेको छ, तर बिचराको टिम अलि कमजोर पर्दा उनी एक्लै परेका छन् । अब ’राउन्ड अफ १६’ मै पाँच पटकको विश्वविजेता ब्राजिलसँग उनको टक्कर छ । व्यक्तिगत रूपमा हालान्ड जुनसुकै डिफेन्स भत्काउन सक्छन्, तर फुटबल एक्लै कुदेर मात्र जितेर जितिने खेल होइन । ब्राजिलको त्यो चट्टानी पर्खाल तोडेर हालान्डले जादु देखाउन सक्लान् भन्नेमा आशङ्का गर्न सकिन्छ । यदि नर्वेको यात्रा यहीँ ब्रेक लाग्यो भने हालान्डको गोल्डेन बुटको सपना पनि चक्नाचुर हुनेछ ।

यो रेसमा फ्रान्सका उसमान डेम्बेले र ब्राजिलका भिनिसियस जुनियर पनि चार–चार गोलसहित दौडिरहेका छन् । तर, अब ब्राजिल र नर्वे आमनेसामने हुने भएकाले भिनिसियस वा हालान्डमध्ये एक जना यही ‘प्याकअप’ हुने निश्चित छ । त्यसपछि ब्राजिल वा नर्वेमध्ये जसले जिते पनि उनीहरूको भिडन्त इङ्ल्यान्ड वा मेक्सिकोसँग हुनेछ, जसको मतलब गोल्डेन बुटको अर्को एउटा बलियो दाबेदार त्यही बाटोबाट घर फर्किनेछ ।

अर्कोतिर डेम्बेलेको लडाइँ विपक्षीसँग मात्र होइन, आफ्नै टिमका कप्तान एम्बाप्फेसँग पनि छ, जो अहिले शीर्ष स्थानमा रजाइँ गरिरहेका छन् । यही कारण त यसपालिको गोल्डेन बुटको रेस कसले कति गोल ग¥यो भन्ने हिसाबमा मात्र सीमित छैन, बरु कसको टोली कति माथिसम्म जान सक्छ भन्ने कुरा निर्णायक हुने देखिन्छ । 

अहिलेको अवस्था हेर्दा एम्बाप्पे र मेस्सी मुख्य दाबेदार हुन् । तर यदि एउटा नाम रोज्नुप¥यो भने बाजी अहिले पनि एम्बाप्पेकै पक्षमा देखिन्छ । कारण स्पष्ट छ-उनको फर्म, फ्रान्सको आगो टोली, सहज देखिएको नकआउट ब्राकेट र ठूला खेलमा लगातार गोल गर्ने क्षमता । तर विश्वकपले बारम्बार सिकाएको एउटा सत्य पनि छ– एक खेलले सबै हिसाब उल्ट्याइदिन सक्छ । त्यसैले गोल्डेन बुटको असली मालिक को बन्ने हो, त्यसको उत्तर अझै मैदानले नै दिनेछ ।

प्रतिक्रिया दिनुहोस्