काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक/एक गोल गरेको हो ।
स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे । पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए । जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन् ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विट्जरल्यान्डका लागि दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै अग्रता दोब्बर पारे ।
नटिङहम फरेस्टबाट खेल्ने विंगरले दोस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै गोल गरेका हुन् । ८१औँ मिनेटमा स्विट्जरल्यान्डले अग्रता बढाउने सुनौलो अवसर गुमायो । फाबियन रिडरले पोस्ट नजिकबाट हानेको बल सिधै अल्जेरियाको किपरको हातमा पुगेको थियो ।
स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच शनिबार हुने खेलाको विजेतासँग खेल्नेछ । अल्जेरिया राउण्ड अफ ३२ बाट बाहिरिने पाँचौँ अफ्रिकन टोली बनेको छ ।














