काठमाडौं । । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा भएकाे खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।
२९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमाडेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाए ।
त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काएका हुन् । तर, १११औं मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा केप भर्डे पराजित हुन पुग्यो ।














