काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पे फिफा विश्वकप-२०२६ मा ‘गोल्डेन बुट’को दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पछि पारेका छन् ।

मेसी र एम्बाप्पेको जारी विश्वकपमा हालसम्मको गोलसंख्या ७-७ भए पनि एम्बाप्पे असिस्ट गोलको आधारमा मेसीभन्दा अघि छन् । एम्बाप्पेकै निर्णायक १ गोल मद्दतमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
एम्बाप्पे उमेरले २७ वर्षका मात्रै भए । मेसी भने ३९ वर्षका भएका छन् । एमबाप्पेले यसअघि भएको राउन्ड अफ ३२ को खेलमा स्विडेनविरुद्ध दुई गोल गरेका थिए । उनकै गोल मद्दतमा फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।
एमबाप्पेले समूह चरणमा सेनेगल र इराक विरुद्ध २-२ गोल गरेका थिए । एम्बाप्पेले जारी विश्वकपमा ५ खेलमा ७ गोल गरिसकेका छन् । जारी खेलमा एम्बाप्पेले आफ्नो टिमको लागि २ गोलमा मद्दतसमेत गरेका छन् । मेसीको भने जारी विश्वकपमा असिस्ट गोल छैन ।
मेसीले समूह चरणमा अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक (३ गोल) गरेका थिए । त्यसैगरी उनले जोर्डनविरुद्धको खेलमा १ गोल गरे भने अस्ट्रियाविरुद्धको खेलमा २ गोल गरे ।
शनिबार बिहान केपभर्डविरुद्ध भएको खेलमा मेसीले १ गोल गरेर जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन् ।आज पाराग्वेविरुद्ध गरेको १ गोलले एमबाप्पेलाई गोल्डेन बुटको दौडमा मेसीभन्दा अघि ल्याएको हो ।
चारपटक विश्वकप खेलेका मेसीले हालसम्म २० गोल गरेका छन्। एम्बाप्पे विश्वकपमा मेसीको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा अब मात्र एक गोलले पछि छन् । उनको पनि गोलसंख्या १९ पुगेको छ ।
सन् २०२२ को विश्वकपको गोल्डेन बुट पनि एम्बाप्पेले नै जितेका थिए। त्यतिबेला फ्रान्सले फाइनलमा अर्जेन्टिनासँग हार्दा एम्बाप्पेले गोल्डेन बुटमै चित्त बुझाउनु परेको थियो ।














