Logo
Logo

गृहमन्त्रीको सूचना चुहिएपछि केसीको सरुवा


4.5k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको स्वकीय सचिवालयमा रहेका प्रमुख सल्लाहकार कुमार बेनको जोडबलमा सिआइबीबाट एआइजी मनोज केसीको सरुवा भएको स्रोतले बताएको छ । एआइजीको सरुवामा पूर्णतः गृहमन्त्री सुधन गुरुङ हावी भएपनि कुमार बेनले एआइजी केसीलाई प्रहरी प्रधानकार्यालयको अपराध अनुसन्धान विभागमा राखिदिनु भनेपछि गृहमन्त्रीको प्रस्तावमा प्रधानमन्त्री हावी भएका हुन् ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआइजीको सरुवामा गृहमन्त्री गुरुङ हावी भएपनि मनोज केसी कुमार बेनका दाहिना भएकाले हस्तक्षेप भएको स्रोतको दाबी छ । लामो समयदेखि एआइजी सरुवाको तयारी भएपनि सिआइबीका प्रमुख एआइजी केसीलाई कहाँ पठाउने भन्ने विषयमा कुराकानी नमिल्दा रोकिएको थियो । अन्नतः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनलाई अपराध अनुसन्धान विभागमा ल्याउन सहमति दिएपछि सबै एआइजीको सरुवा मिलेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार खासगरी प्रशासनमा डम्बर विकलाई ल्याउन आइजी कार्कीले पहिलादेखि नै जोडबल गरेका थिए । यसअघि प्रशासनमा रहेका सुशील राठौरलाई उपत्यका प्रहरी कार्यालयमा पठाउने कार्कीको चाहाना पूरा भएको छ भने, सिआइबीमा उमा चतुरवेदीलाई पनि मन्त्री गुरुङ र आइजीपी कार्कीकै जोडबलमा लगिएको स्रोतले बताएको छ ।

प्रहरीका आइजिपी कार्की र सशस्त्रका समकक्षी नारायणदत्त पौडेल आइतबार अमेरिका प्रस्थान गरेका छन् । उनीहरू संयुक्त राष्ट्रसंघले न्यूयोर्कमा जुलाई ५ मा आयोजना गर्ने चिफ अफ पुलिस समिटमा सहभागी हुन जाने भएपछि हतारमा एआइजी सरुवा गरिएको थियो ।

गृहमन्त्री सुधन गुरुङले दीपक भट्टको कम्पनीमा भएको लगानीको सबै ‘गोप्य’ कागजातहरु सिआइबीबाट चुहिएको शंकामा एआइजी केसीलाई सिआइबीबाट हटाउनका लागि पनि यो सरुवा गरिएको स्रोतको दाबी छ । बिहीबारको सरुवामा आइजिपी कार्कीपछिको वरिष्ठताका एआइजी राजन अधिकारीलाई सिआइबी पठाउनका लागि लविङ भए पनि एआइजी उमा चतुरवेदीलाई नै सिआइबी पठाइएको छ ।

सिआइबीबाट सरुवा भएर आएका उनलाई कार्यविभागमा राख्न खोजिएको थियो तर केसीले कार्यविभागमा जान नचाहेपछि अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । कार्यविभागमा सिद्धिविक्रम शाहलाई ल्याइएको छ । उनी यसअघि पनि कार्यविभागमा रहेका थिए ।

आइजीपी कार्कीले एआइजी शाहलाई अपराध अनुसन्धान विभागमा ल्याउन चाहेका थिए । तर अन्तिम समयमा प्रधानमन्त्री बालेन्द्र साहको सचिवालका बेनको जोडबलमा कार्यमा शाह र केसीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरियो । ‘प्रधानमन्त्रीको स्वकीय सचिवलायबाट आएको दबाबले केसी र शाहको सरुवा हेरफेर भएको हो’, स्रोतले दृष्टिलाई बतायो ।

सिआइबीबाट समानन्तर प्रहरी चलाएको आरोप खेप्दैआएका एआइजी केसीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरेपछि आइजी कार्कीलाई थप ‘चेक एण्ड व्यालेन्स’ गर्न खोजिएको बताइएको छ । विगतमा उपेन्द्रकान्त आर्यालको समयमा राजेन्द्र सिंह भण्डारी र सर्वेन्द्र खनालको समयमा पुस्कर कार्कीले चेक एण्ड व्यालेन्सको नीतिलाई अहिलेको सरकारले पनि एआइजी केसीलाई हेडक्वार्टरमा सरुवा गरेर निरन्तरता दिएको प्रहरीमा वृत्तमा चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्