Logo
Logo

फुटबरका जादुगर 


63
Shares

The current image has no alternative text. The file name is: 2083-03-24-World-Cup-2026-Lionel-Messi-2-THUMBNAIL.jpg

काठमाडौं । विश्वप्रसिद्ध फुटबल प्रशिक्षक पेप गार्डियोलाले एकपटक भनेका थिए– ‘मेस्सीको बारेमा धेरै नलेख्नुस्, उनलाई शब्दमा व्याख्या गर्ने प्रयास पनि नगर्नुस् । बस, उनलाई मैदानमा खेलिरहेको हेर्नुस् र आनन्द लिनुस् ।’ जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ मा इजिप्टविरुद्ध अर्जेन्टिनाको खेल हेरेपछि धेरै फुटबलप्रेमीलाई ग्वार्डिओलाको यही भनाइ फेरि एकपटक याद आयो ।  खेल यस्तो थियो, हत्तपत्त कसैले बिर्सनै सक्दैन । इजिप्टविरुद्ध अर्जेन्टिनाले यसरी कम ब्याक ग¥यो कि पूरै संसार अक्क न बक्क भयो । 

एटलान्टा स्टेडियममा ६७ मिनेटसम्म अर्जेन्टिना २-० ले पछाडि परिसकेको थियो । हार निश्चित जस्तै थियो । संसारभरका करोडौँ अर्जेन्टिनी समर्थकको मुटुले ठाउँ छाडिसकेको थियो । इजिप्टका फ्यान र मेस्सीका आलोचकहरूको खुसीले खुट्टा भुईँमै थिएनन् । खासमा इजिप्टका फ्यानभन्दा पनि बढी खुसी त पोर्चुगल र ब्राजिलका फ्यानहरू देखिन्थे । आखिर नहोउन् पनि किन रु रोनाल्डो र नेयमारको विश्वकप यात्रा सकिसकेको छ । र, उनीहरूमा एउटै डाहा थियो-मेस्सीको यात्रा पनि यहीँ टुङ्गियोस् । कतिले नेयमार र रोनाल्डोले मेस्सीलाई एयरपोर्टमा पर्खिरहेका छन् भनेर ट्रोल समेत गरिरहेका थिए । 

तर, फुटबलमा एउटा नियमजस्तै छ– जबसम्म मेस्सी मैदानमा हुन्छन्, खेल सकिँदैन । खेलको ७९औँ मिनेटपछि पासा यसरी पल्टियो कि आलोचकहरूको खुसी क्षणभरमै शोकमा बदलियो । कप्तान मेस्सीको पासमा क्रिस्टियन रोमेरोले गोल गरेर आशा जगायो । त्यसको ५ मिनेटमै, अर्थात् ८४औँ मिनेटमा मेस्सी आफैँले गोल ठोकेर खेललाई २–२ को बराबरीमा ल्याए । अनि इन्जुरी समयमा जे भयो, त्यो त अद्भुत थियो । एन्जो फर्नान्डेजले बक्स बाहिरबाट हानेको प्रहार सिधै जालीमा चुमियो र अर्जेन्टिना ३–२ ले जित्दै क्वार्टरफाइनलमा पुग्यो । यो केवल जित मात्र थिएन, अर्जेन्टिनाको ‘कहिल्यै नहार्ने’ मानसिकताको एउटा नमुना थियो । र, हामी डिफेन्डिङ च्याम्पियन किन हौँ भन्ने कुराको बलियो प्रमाण थियो । 

नाटकीय रूपमा हारेपछि इजिप्टको टोली भने रेफ्री र भीएआरको निर्णयमाथि आगो भएको छ । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि ‘घोर अन्याय’ भएको दाबी गर्दै अर्जेन्टिनालाई जसरी पनि प्रतियोगितामा टिकाइराख्न र मेसीलाई अघि बढाउन यस्तो खेल खेलिएको गम्भीर आरोप लगाएका छन् । इजिप्टको आक्रोशको मुख्य कारण दुइटा निर्णय थिए । पहिलो, इजिप्ट १-० ले अगाडि हुँदा मोस्तफा जिकोले गरेको दोस्रो गोललाई भीएआरले रद्द गरिदियो । गोल हुनुअघि मारवान अटियाले लिसान्द्रो मार्टिनेजलाई फाउल गरेको रेफ्रीको ठहर थियो । त्यो भिडियोमा पनि प्रष्ट देख्न सकिन्छ । दोस्रो, अर्जेन्टिनाको विजयी गोल हुनुअघि मोहम्मद सलाहलाई पेनाल्टी एरियामा लडाइए पनि रेफ्रीले वास्तै नगरेको इजिप्टको गुनासो छ । यो विवादमा इजिप्टका एक प्राविधिक सदस्यले रातो कार्ड खाए भने प्रशिक्षक हसनले पहेंलो कार्ड पाए । तर, रिप्लेमा हेर्दा सलाह लड्नुअघि नै जुलियन अल्भारेजले बल टच गरिसकेको प्रस्ट देखिन्छ ।  

यो खेलले मेस्सीका फ्यानहरूलाई जति खुसी दियो, त्यति नै एउटा खराब रेकर्ड पनि उपहार दियो । इजिप्टविरुद्ध गोल गरेसँगै मेस्सीले विश्वकपका लगातार ९ खेलमा गोल गर्ने ऐतिहासिक कीर्तिमान त बनाए, तर यही खेलमा उनको नाममा एउटा यस्तो खराब रेकर्ड पनि थपियो, जुन उनी आफैँ कहिल्यै सम्झिन चाहँदैनन् ।

८ पटकका बालोन डि’ओर विजेता मेस्सीले जारी विश्वकपका ५ खेलमध्ये दुईवटा पेनाल्टी अवसर गुमाइसकेका छन् । इजिप्टविरुद्ध २०औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाउँदा इजिप्टका गोलकिपर मुस्तफा सुबिरले मेस्सीको प्रहार रोकिदिएका थिए । यसअघि समूह चरणमा अस्ट्रियाविरुद्ध पनि खेलको आठौँ मिनेटमा उनले पेनाल्टी मिस गरेका थिए । योसँगै मेस्सी विश्वकपको एउटै संस्करणमा दुईवटा पेनाल्टी मिस गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । समग्र विश्वकप करियरमा त उनले ४ वटा पेनाल्टी मिस गरिसकेका छन् । यदि हिजो अर्जेन्टिनाले खेल हारेको भए आलोचकहरूले मेस्सीको खेडो खन्ने निश्चित थियो, तर अन्तिम समयमा जादुमयी प्रदर्शन गर्दै उनले सबैको मुख थुनिदिए ।

उमेरले नेटो काटे पनि मेस्सीको जादु भने अझै घटेको छैन । जारी विश्वकपमा ५ खेलबाट ८ गोल गर्दै उनी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । फ्रान्सका केलियन एम्बाप्पे र नर्वेका अर्लिङ हालान्ड ७–७ गोलसहित उनलाई पछ्याउँदै छन् । यससँगै मेस्सीको विश्वकप इतिहासमा कुल गोल सङ्ख्या २१ पुगिसकेको छ ।

यो जितपछि टिममेट जुलियन अल्भारेजले मेस्सीको तारिफ गर्न अब संसारमा शब्द नै बाँकी नरहेको र उनी इतिहासकै सर्वोत्कृष्ट भएको बताए । त्यस्तै फ्रान्सेली लिजेन्ड थियरी हेनरीले पहिलो हाफमा पेनाल्टी मिस हुँदा मेस्सी पनि हामी जस्तै मान्छे नै हुन् जस्तो लागेको तर पछिको खेल हेरेपछि उनी मान्छे नभएर सिंह भएको प्रमाणित भएको टिप्पणी गरे । त्यस्तै ज्लातान इब्राहिमोविच पनि भनेका छन्– ‘मैले मेस्सीको आँखामा म हार मानेर घर फर्किनेवाला छैन भन्ने जिद्दी देखेँ। उनी मैदानमा यसरी जाइलागे कि कसैले उनलाई रोक्न सक्ने अवस्थै थिएन ।’

त्यसो त मेस्सीको टिममेट र समर्थकले मात्रै होइन, ओपनेन्टको कप्तान मोहम्मद सलाह समेत मेस्सीको प्रशंसा गरेका छन् । खेलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने– ‘मेस्सी महान् खेलाडी हुन्, यसमा कुनै शङ्का छैन र उनले आफ्नो जादु देखाए । तर, खेलको नतिजा एउटा विवादास्पद निर्णयको छायामा पर्नु फुटबलका लागि दुःखद हो ।’ 

अहिले मेस्सीको कम ब्याक जसरी चर्चा भइरहेको छ । तर, उनले कम ब्याक गरेको पहिाले पटक भने होइनन् । बार्सिलोनाका लागि खेल्दा मेस्सीले सान्टियागो बर्नाबेउमा रियल मड्रिडविरुद्ध गरेको कम ब्याक फुटबल इतिहासकै सबैभन्दा चर्चित क्षण मानिन्छ । खेलको दौरान मड्रिडका डिफेन्डरको कुइनो लागेर मेस्सीको मुखबाट रगत बगिरहेको थियो । मुखमा पट्टी बाँधेर खेलिरहेका मेस्सी र उनको टोली २–२ को बराबरीमा अड्किएको थियो । खेलको ९२औँ मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ३–२ को नाटकीय जित दिलाए । गोल गरेपछि उनले आफ्नो जर्सी फुकाएर रियल मड्रिडका दर्शकतिर सोझ्याएको त्यो दृश्य फुटबलकै सबैभन्दा ‘आइकोनिक’ तस्बिर बन्यो । 

त्यस्तै च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा असम्भव मानिएको कम ब्याक बार्सिलोनाले पिएसजीविरुद्ध गरेको थियो, जसलाई स्पेनिस भाषामा ‘रेमुन्टाडा’ भनिन्छ । पहिलो लेगमा बार्सिलोना ४–० ले लज्जास्पद रूपमा पराजित भएको थियो । दोस्रो लेगमा अगाडि बढ्न बार्सिलोनालाई चमत्कार नै चाहिएको थियो । नेयमार र सुआरेजसँग मिलेर मेस्सीले बार्सिलोनालाई ६–१ को जित दिलाए र समग्रमा ६–५ को नतिजासहित इतिहासकै सबैभन्दा ठुलो कम ब्याक गरेका थिए ।

यो कम ब्याक गर्ने सिलसिला उनको खेल जीवनको उत्तरार्धमा पनि रोकिएन । सन् २०२३ मा इन्टर मियामीमा अनुबन्ध भएपछि एफसी डलास विरुद्धको खेलमा ८० औं मिनेटसम्म ४–२ ले पछि परेको अवस्थामा मेस्सीले खेलको अन्तिम समयमा फ्रिकिक मार्फत सनसनीपूर्ण गोल गर्दै खेल ४–४ को बराबरीमा ल्याए र अन्ततः पेनाल्टीमा टोलीलाई जिताए । उनको खेलको यही अद्भुत विशेषताले गर्दा नै मैदानमा मेस्सी भएसम्म आस कहिल्यै मर्दैन ।

विश्व फुटबलमा धेरै आए, धेरै गए । कसैले स्पिड देखाए, कसैले पावर । कसैले गोलको वर्षा गरे त कसैले कपको पहाड बनाए । तर फुटबललाई ‘कला’ बनाउने जादूगर एउटै हुन्– मेस्सी । मेस्सी मैदानमा हुँदा लाग्छ– उनले बललाई होइन, बलले उनलाई पछ्याइरहेको छ । त्यसैले त ३९ वर्षको उमेरमा पनि मैदानमा उनी विपक्षीका लागि सबैभन्दा ठुलो टाउको दुखाइ बन्ने गरेका छन् । उनी अहिले धेरै कुद्दैनन्, तर कहाँ बस्ने, बललाई कता मोड्ने र विपक्षीको गल्तीको फाइदा कसरी उठाउने भन्ने कुरामा उनी ‘मास्टरमाइन्ड’ हुन् ।

यो विश्वकप मेस्सीका लागि अर्को ट्रफी जित्ने दाउ मात्र होइन, एउटा स्वर्णिम युगलाई विदाइ गर्ने मञ्च पनि हुन सक्छ । आलोचकहरू उमेरले मेस्सीलाई रोक्ने दिन पर्खेर बसेका होलान्, तर फ्यानहरूलाई थाहा छ– मेस्सी मैदानमा भएसम्म जुनसुकै बेला जादु देख्न पाइन्छ ।  वास्तवमा, मेस्सीको जादुमयी खुट्टाकै कारण आज संसारले फुटबलमा अझै पनि जादु बाँकी छ भनेर विश्वास गरिरहेको छ  ।

अब अर्जेन्टिनाले क्वार्टरफाइनलमा आगामी आइतबार स्विट्जरल्याण्डको सामना गर्दै छ । के बाँकी खेलहरूमा पनि मेस्सीको यस्तै जादुमयी ‘मास्टरक्लास’ देख्न पाइएला रु? तपाईँलाई के लाग्छ ? तर एउटा कुरा चाहिँ पक्का हो– मेस्सी र अर्जेन्टिनाको खेल हेर्न बस्दा मुटु दह्रो बनाएर बस्नुहोला, किनभने त्यहाँ जुनसुकै बेला जसलाई पनि ‘हार्ट अट्याक’ हुन सक्छ !

प्रतिक्रिया दिनुहोस्