Logo
Logo

रेफ्रीको निर्णयविरुद्ध इजिप्टको फिफामा उजुरी


63
Shares

काठमाडौं । जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ चरणमा अर्जेन्टिनासँग ३-२ गोलले पराजित भएपछि इजिप्ट फुटबल महासङ्घले रेफ्री फ्राँस्वा लेटेक्सिएरको निर्णयविरुद्ध फिफामा औपचारिक उजुरी दर्ता गरेको छ ।

इजिप्ट खेलको एक चरणमा २-० गोलको अग्रतामा थियो र ऐतिहासिक जिततर्फ अघि बढिरहेको देखिन्थ्यो । तर अन्तिम समयमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले एक गोल गरे भने अर्को गोलका लागि अवसर सिर्जना गरेका थिए । इन्जुरी समयको अन्त्यतिर एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पुर्‍याएका थिए ।

खेलपछि इजिप्ट पक्षले रेफ्रीका केही महत्त्वपूर्ण निर्णयप्रति असन्तुष्टि जनाएको छ । महासङ्घका अनुसार भिडियो सहायक रेफ्रीको समीक्षा पछि इजिप्टको एक गोल रद्द गरिएको थियो । साथै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि पेनाल्टीको माग गरिएको अवस्थामा त्यसको भिडियो समीक्षा समेत नगरिएको आरोप लगाइएको छ । इजिप्ट फुटबल महासङ्घका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिएर र उनको अफिसियटिङ टोलीविरुद्ध फिफामा औपचारिक उजुरी दर्ता गराएका छन् ।

इजिप्ट फुटबल महासङ्घले आफूले विवादास्पद ठानेका निर्णयबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । साथै रेफ्री लेटेक्सिएर र उनको सम्पूर्ण अफिसियटिङ टोलीलाई विश्वकपका बाँकी खेलबाट हटाउन पनि औपचारिक अनुरोध गरेको बताइएको छ ।

यसअघि नै इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनका अनुसार खेलको नतिजा केवल मैदानमा भएको प्रदर्शनले मात्र तय भएको थिएन ।

उनले भने,’हामीले वर्तमान विश्वविजेताविरुद्ध धेरै पक्षमा उत्कृष्ट प्रदर्शन गर्‍यौँ । तर खेलभित्र र खेलबाहिरका केही कारणले नतिजा प्रभावित भयो । सायद उनीहरू विश्वविजेता टोली प्रतियोगितामा रहिरहोस् भन्ने चाहन्थे । सायद मेसीलाई प्रतियोगितामा अगाडि बढाइराख्न चाहन्थे ।’

हसनले निष्पक्ष खेलको भावना पालना नभएको आरोप पनि लगाए । उनका अनुसार इजिप्टलाई स्पष्ट पेनाल्टी दिइएन, त्यसको भिडियो समीक्षा समेत गरिएन र टोलीको दोस्रो गोल पनि विवादास्पद रूपमा रद्द गरियो । उनले भने,’ ‘आज हामीले न सम्मान पायौँ, न निष्पक्ष खेलको अनुभूति । हामीमाथि अन्याय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्