Logo
Logo

पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुआत आज फ्रान्स र मोरक्कोबीचको रोमाञ्चक प्रतिस्पर्धाबाट हुँदै छ । नेपाली समयअनुसार खेल राति १:४५ बजे सुरु हुनेछ ।

The current image has no alternative text. The file name is: football-2.jpg

सन् २०२२ विश्वकपको सेमिफाइनलको पुनरावृत्तिका रूपमा रहेको यस खेलमा दुवै टोली सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् । विजेता टोली उपाधिबाट दुई जितको दूरीमा पुग्नेछ ।

फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। खेलमा टोलीले अपेक्षाअनुसार प्रभावशाली प्रदर्शन गर्न नसके पनि कप्तान किलियन एम्बाप्पेको पेनाल्टी गोल निर्णायक बनेको थियो । प्रतियोगितामा सात गोल गरिसकेका एम्बाप्पे लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने लक्ष्यमा छन् ।

प्रशिक्षक डिडिए डेसचाम्प्सले विजयी टोलीमा धेरै परिवर्तन नगर्ने सङ्केत दिएका छन् । मिडफिल्डमा मानु कोने र एड्रियन राबियोले जिम्मेवारी सम्हाल्ने सम्भावना छ भने ओरेलियन चुआमेनीको खेल्ने सम्भावना न्यून रहेको बताइएको छ ।

यता, मोरक्कोले अन्तिम १६ मा क्यानडालाई ३-० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । पहिलो हाफमा दबाबमा परेको टोलीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकालेको थियो। अजेद्दिन ओउनाहीले दुई गोल गर्दा सुफियान रहिमीले एक गोल गरेका थिए ।

सन् २०२२ मा पोर्चुगललाई हराउँदै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्को यसपटक पनि इतिहास दोहोर्‍याउने लक्ष्यमा छ । त्यसका लागि उसले विश्व वरीयताको शीर्ष टोली फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

मोरक्कोका लागि भने केही खेलाडीको फिटनेस चिन्ताको विषय बनेको छ। इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण खेल्ने सम्भावना अनिश्चित छ । उनको स्थानमा उत्कृष्ट लयमा रहेका रहिमीले सुरुआती रोजाइ पाउने अपेक्षा गरिएको छ । यस्तै, चादी रियादको अवस्थासमेत स्पष्ट नभएकाले रेडुआन हलहालले अवसर पाउन सक्ने अनुमान गरिएको छ ।

यस खेलको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्