काठमाडौं । डलासमा हुने फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भएको छ। यस खेलमा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने दाउमा हुनेछ भने स्पेन फ्रान्सलाई लगातार तेस्रो खेलमा हराउँदै उपाधि नजिक पुग्न चाहन्छ। दुवै टोलीको उत्कृष्ट लय र प्रतिष्ठाका कारण यो भिडन्त प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।

किलियन एमबाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसे सम्मिलित फ्रान्सको आक्रमण पंक्ति प्रतियोगिताभर निकै घातक देखिएको छ। त्यसको ठीक विपरीत, स्पेनको रक्षापंक्ति भने लगभग अभेद्य बनेको छ। स्पेनले यस विश्वकपमा हालसम्म मात्र एक गोल व्यहोरेको छ भने लगातार पाँच खेलमा ‘क्लिन सिट’ राख्न सफल भएको छ। हालैका दुई भेटमा पनि स्पेन नै फ्रान्समाथि हाबी देखिएको छ। उसले युरो २०२४ को सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराएको थियो भने २०२५ को यूईएफए नेसन्स लिगको फाइनल चरणमा ५–४ को रोमाञ्चक जित निकालेको थियो।
लस एन्जलसमा भएको निकै प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो। उक्त खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गरेका थिए। खेलपछि उत्कृष्ट प्रदर्शन गर्दै ‘सुपेरियर प्लेयर अफ द म्याच’ घोषित भएका १८ वर्षीय युवा स्टार लामिन यमालले फ्रान्सको चुनौतीबाट आफूहरू कत्ति पनि विचलित नभएको बताए।
उनले अब दुईवटा मात्र सम्भावना रहेको उल्लेख गर्दै या तो फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने या आफूहरूले उनीहरूलाई लगातार तेस्रो पटक हराउने दाबी गरे। मैदानमा के हुन्छ थाहा नभए पनि आफूहरू फ्रान्ससँग कत्ति पनि नडराएको र टोलीको लक्ष्य स्पष्ट रहेको उनले बताए। बेल्जियममाथिको जितबाट निकै खुसी भएका यमालले सेमिफाइनल खेल्न र जित्नकै लागि यहाँ आएको भन्दै अब आराम गरेर फ्रान्सविरुद्धको खेलको तयारी गर्ने समय भएको उल्लेख गरे।
यमालका लागि व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलता सर्वोपरि रहेको देखिन्छ। आफू गोल गर्न चाहे पनि मैदानमा गोलकै बारेमा मात्र सोचेर नउत्रिने बताउँदै उनले यदि टोलीले विश्वकप जितेमा आफ्नो व्यक्तिगत गोल कसैले सम्झने छैनन् भन्दै टोलीको जित नै सबैभन्दा महत्त्वपूर्ण हुने प्रष्ट पारे। आफ्नो खेलशैलीले टोलीलाई फाइदा पुग्ने बताउँदै उनले आफ्नो दौडका कारण विपक्षी डिफेन्डरहरू अल्मलिँदा टोलीका अन्य खेलाडीले खाली ठाउँ पाउने र आफूले बल नछोए पनि टोलीलाई फाइदा पुग्छ भने त्यो आफ्ना लागि उत्तिकै महत्त्वपूर्ण हुने धारणा राखे।














