Logo
Logo

कोभिडविरुद्धको खोप जतिसक्दो चाँडो उपलब्ध गराउँछौँ : मन्त्री पौडेल


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, २७ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोप जतिसक्दो चाँडो उपलब्ध गराउने तयारीमा भइरहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाचौँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।’ मुलकको आर्थिक क्षेत्रमा नीजि क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै उनले कोभिडविरुद्धको लडाइँमा सरकारलाई सहयोग निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आह्वान गरे ।
‘यति बेला समग्र मानव जाति कोरोनाको महामारीबाट आक्रान्त छ, आर्थिक, सामाजिक क्षेत्र प्रभावित छ, हामी पनि त्यसबाट प्रभावित छौँ, अहिले कोभिडलाई परास्त गर्दै आर्थिक–सामाजिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चुनौती बनेको छ’, उनले भने । मन्त्री पौडेलले सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
कोरोनाकै बीचमा पनि सरकार उत्पादन र लगानीका क्षेत्रमा काम गर्न सकिने अनुकूल आधार निर्माण गर्नेतर्फ केन्द्रित भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले भोग्नु परेको समस्या समाधानतर्फ केन्द्रित भएको पनि प्रस्ट पारे । कोभिडसँगै देशले भोगिरहेको आर्थिक क्षेत्रलाई उकास्ने गरी रचनात्मक र आलोचनात्मकरुपमा प्रस्तुत हुन सञ्चार क्षेत्रलाई उनले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्