काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा पुनः अग्रता बनाएको छ ।

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाएका हुन् ।
यसअघि अर्जेन्टिनाले १० औँ मिनेटमा एलेक्सिस ग्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो । कप्तान लियोनेल मेस्सीको असिस्टमा भएको उक्त गोललाई स्विट्जरल्यान्डले ६७ औँ मिनेटमा ड्यान एन्डोयेको गोलमार्फत बराबरीमा परिणत गरेको थियो ।
स्विट्जरल्यान्ड ७२औँ मिनेटदेखि ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै १० खेलाडीमा सीमित छ । एक खेलाडी बढी भएको अर्जेन्टिनाले खेलको अन्त्यतिर त्यसको फाइदा उठाउँदै अल्भारेजमार्फत निर्णायक गोल निकाल्न सफल भएको हो ।
खेलको अतिरिक्त समयको दोस्रो हाफ जारी छ । अर्जेन्टिनाले अब बाँकी समय अग्रता जोगाउन सके सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गर्नेछ।














