Logo
Logo

‘सेतो हात्ती’ बन्दै राष्ट्रिय वाणिज्य बैंक


126
Shares

काठमाडौं । सरकारी स्वामित्वको सबैभन्दा ठूलो वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) अहिले एउटा यस्तो गम्भीर मोडमा उभिएको छ, जहाँ यसको बाहिरी आवरण जति मजबुत देखिन्छ, भित्री स्वास्थ्य त्यति नै जर्जर बन्दै गएको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको पछिल्लो प्रतिवेदनले बैंकको साखमाथि गम्भीर प्रश्न उठाइदिएको मात्र छैन, यो बैंक कुनै पनि बेला वित्तीय दुर्घटनामा पर्न सक्ने चेतावनी समेत दिएको छ । प्रतिवेदनले एउटा तीतो यथार्थ उजागर गरिदिएको छ— बैंकको ‘ए प्लस रेटिङ यसको व्यावसायिक क्षमताले होइन, बरु सरकारी स्वामित्वको सुरक्षा कवच र करदाताको पैसाबाट हुने बेलआउटको भरोसामा मात्र अडिएको हो ।

बैंकका लागि सबैभन्दा ठूलो टाउको दुखाइ यसको निरन्तर खस्कँदो कर्जाको गुणस्तर बनेको छ । पछिल्लो तथ्यांकअनुसार बैंकको खराब कर्जा (एनपिएल) ४.४८ प्रतिशत पुग्नु आफैँमा चिन्ताजनक त हो नै, तर त्योभन्दा डरलाग्दो चित्र अर्कै छ । बैंकले लगानी गरेको कुल कर्जामध्ये १४.४२ प्रतिशत हिस्सा ३० दिनभन्दा बढीको भाखा नाघिसकेको अवस्थामा छ ।

यसको अर्थ हो– बैंकको अर्बौं रुपैयाँ अहिले रेड जोनमा छ । देशको सुस्त आर्थिक गतिविधि र ऋणीहरूको कमजोर भुक्तानी क्षमताका कारण यो रकम कुनै पनि बेला डूब्ने सूचीमा पर्न सक्छ, जसले बैंकको सञ्चालनमै ब्रेक लगाइदिन सक्छ ।

पुँजी पर्याप्तता अनुपात (सीएआर) को ऐना हेर्दा बैंक झनै कमजोर देखिएको छ । ११.६० प्रतिशतको पुँजी पर्याप्तता अनुपातले बैंक राष्ट्र बैंकको डेडलाइन (११ प्रतिशत) बाट केही कदम मात्र टाढा रहेको देखाउँछ ।

यदि बैंकले साढे २ अर्बको ऋणपत्र जारी नगरेको भए र सरकारले पटक–पटक पुँजी थपेर अक्सिजन नदिएको भए, यो बैंक यतिबेला नियामकको कठोर कारबाहीको घेरामा परिसक्ने थियो । आगामी बजेटमा पनि सरकारले पुँजी थप्ने घोषणा गर्नुले यो बैंक व्यावसायिक रूपमा आत्मनिर्भर नभई पूर्ण रूपमा सरकारी बैसाखीमा टिकेको पुष्टि गर्छ ।

अचम्मको कुरा त के छ भने, सरकारी बैंक भएकाले निक्षेपको लागत (कस्ट अफ फण्ड) निकै कम हुँदाहुँदै पनि बैंकले त्यसलाई नाफामा बदल्न सकेको छैन । विशाल सञ्जाल र अर्बौंको निक्षेप भए पनि चालू आर्थिक वर्षको ९ महिनामा बैंकको खुद नाफा १ अर्ब २० करोड ४० लाखमा खुम्चिनुले यसको व्यवस्थापकीय अक्षमतालाई नराम्रोसँग उदाङ्गो पारेको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा बैंकको खुद नाफा १ अर्ब २० करोड ४० लाखमा खुम्चिनुले यसको व्यवस्थापकीय अक्षमतालाई नराम्रोसँग उदाङ्गो पारेको छ । सम्पत्तिमा प्रतिफल (आरओए) घटेर ०.३२ प्रतिशतमा झर्नुले बैंकको सञ्चालन दक्षतामा खिया लागेको संकेत गर्छ ।

सम्पत्तिमा प्रतिफल (आरओए) घटेर ०.३२ प्रतिशतमा झर्नुले बैंकको सञ्चालन दक्षतामा खिया लागेको संकेत गर्छ । निजी क्षेत्रका बैंकहरूले आक्रामक बजारीकरण र आधुनिक प्रविधिको प्रयोगमार्फत बजार कब्जा गरिरहँदा राष्ट्रिय वाणिज्य बैंक भने पुरानै ढर्रा र राजनीतिक हस्तक्षेपको बोझले थिचिएको छ ।

सरकारी बैंक हो, डुब्दैन भन्ने आम विश्वासले यसको निक्षेपकर्तालाई त केही हदसम्म ढुक्क बनाउला, तर बैंकको व्यावसायिक साख भने रसातलतिर जाँदैछ । यदि बैंकले आफ्नो ऋण असुली प्रक्रियालाई युद्धस्तरमा अघि नबढाउने र खराब कर्जालाई कम गर्न नसक्ने हो भने, सरकारले जतिसुकै पुँजी थपे पनि यो सेतो हात्तीलाई बचाउन मुस्किल हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्