Logo
Logo

साउन महिनाका लागि ८ बैङ्कले घटाए ब्याजदर


441
Shares

काठमाडौं ।  वाणिज्य बैङ्कहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार बैङ्कहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन । 

The current image has no alternative text. The file name is: bank.jpg

असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ । साउन महिनाका लागि २० वटा वाणिज्य बैङ्कमध्ये केही बैङ्कले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् । 

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ । यस बैङ्कले व्यक्तिगत तर्फ ०.७५ प्रतिशत र संस्थागत तर्फ १ प्रतिशतले ब्याजदर कटौती गरेको छ ।  त्यस्तै, ग्लोबल आइएमई बैङ्कले व्यक्तिगतमा ०.५ प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा एनएमबि बैङ्कले व्यक्तिगतमा ०.२५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले घटाएको छ । 

त्यस्तै, सिटिजन्स बैङ्क इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले ब्याजदर घटाएको छ । कृषि विकास बैङ्कले संस्थागत तर्फ ०.०३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ भने कुमारी बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले व्यक्तिगत तर्फ मात्र क्रमशः ०.०६ प्रतिशत र ०.१ प्रतिशतले ब्याजदर कम गरेका छन् ।

यद्यपि, अधिकांश वाणिज्य बैङ्कहरूले भने असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् । नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया र प्राइम कमर्सियल गरी १२ वटा बैङ्कले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । 

घट्दो ब्याजदरको यस प्रवृत्तिका बिच नेपाल बैङ्क लिमिटेडले भने संस्थागत तर्फको ब्याजदर अधिकतम ब्याजदरलाई ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याएको छ । ४ वर्ष वा सोभन्दा लामो अवधिको संस्थागत मुद्दतीमा नेपाल बैङ्कले सो बराबरको ब्याजदर तोकेको हो । यद्यपि यसको व्यक्तिगत तर्फको ब्याजदर भने ४.२५ प्रतिशतमा नै स्थिर रहेको छ।

नयाँ प्रकाशित दर अनुसार, साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैङ्क र प्रभु बैङ्कले दिनेछन् । यी दुई बैङ्कले व्यक्तिगत तर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् । 

अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ब्याजदर नै ३.८५ प्रतिशत मात्र ब्याज पाउनेछन् । 

संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल बैङ्कले सबैभन्दा धेरै ४ प्रतिशत ब्याज दिनेगरी तोकेको छ । प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले सबैभन्दा कम २.७५ प्रतिशत मात्र ब्याजदर तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्