Logo
Logo

मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारीसँगै ६ बुँदे सहमतिको मस्यौदा तयार


756
Shares

काठमाडौं । नेपाल सरकार र ‘मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन’ बीच मिटरब्याज समस्या दीर्घकालीन रूपमा समाधान गर्न ६ बुँदे सहमतिको मस्यौदा तयार भएको छ ।

मस्यौदामा मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने, विशेष ऐन ल्याउने, मिटरब्याजसम्बन्धी विशेष न्यायाधिकरण गठन गर्ने तथा आन्दोलन स्थगित गर्ने विषय समेटिएका छन् ।

मस्यौदाअनुसार मन्त्रिपरिषद्ले मिटरब्याज प्रथालाई गम्भीर आर्थिक अपराधका रूपमा घोषणा गर्नेछ । साथै, मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन पास, बाध्यकारी चेकलगायतका अवैध लिखत खारेज गर्ने प्रक्रिया अघि बढाइने छ । त्यसका लागि कानुनी आधार तयार गर्न मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विशेष ऐन निर्माण प्रक्रिया सुरु गरिने उल्लेख गरिएको छ ।
सरकारले तीन महिनाभित्र उक्त विशेष ऐनको मस्यौदा तयार गर्ने प्रस्ताव गरेको छ । ऐनमा मिटरब्याजजन्य लेनदेनलाई अवैध घोषणा गर्ने, पीडितलाई क्षतिपूर्ति दिलाउने, हडपिएको जग्गा फिर्ता गराउने, सुदखोरीलाई कानुनी दायरामा ल्याउने तथा मिटरब्याजसम्बन्धी विशेष न्यायाधिकरण गठन गर्ने व्यवस्था रहने छ ।

मस्यौदामा मिटरब्याजसम्बन्धी मुद्दाको अनुसन्धान, फर्जी लिखतको फरेन्सिक परीक्षण, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान, अदालतमा विचाराधीन मुद्दाको पुनरावलोकनका लागि आवश्यक कानुनी व्यवस्था तथा पीडितलाई निस्शुल्क कानुनी सहायता उपलब्ध गराउने विषय पनि समावेश गरिएको छ ।

सम्झौता कार्यान्वयनका लागि मन्त्रिपरिषद्को निर्णयबाट सरकार, स्वतन्त्र विज्ञ र आन्दोलन पक्षका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता–संवाद समिति गठन गर्ने तथा सात दिनभित्र विशेष कार्यदल बनाउने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्