Logo
Logo

नेपालमा खेलाडीलाई नक्कली गहनाजस्तै बनाइएको छ


अञ्जली मचामसी, राष्ट्रिय फुटबल खेलाडी

378
Shares

अञ्जली मचामसीको दैनिकी फुटबलमै बित्छ । फुटबलको ट्रेनिङ लिनु र खेल्नु उनको नियमित कर्म हो । यतिखेर अञ्जलीले फुटबललाई लिएर ठूला–ठूला सपनाहरू देखिरहेकी छिन् । फुटबलबाट देशलाई चिनाउने रहर उनमा कायमै छ । उमेरले भर्खर २१ वर्ष लागेकी अञ्जली राष्ट्रिय फुटबल खेलाडी हुन् । उनले नेपालभित्र धैरै गेम खेलिसकेकी छिन् । त्यसबाहेक विदेशका दर्जनौं गेममा पनि उनले उत्कृष्ट प्रदर्शन गरिसकेकी छिन् । उनै राष्ट्रिय फुटबल खेलाडी अञ्जली मचामसीसँग रेजिना पाण्डेको जम्काभेटः

विश्वकप कत्तिको लागेको छ ?

निश्चय नै लागेको छ । म फुटबल खेलाडी भएकाले नलाग्ने त कुरै छैन । अहिले विश्वकप हेरिरहको छु । मनपर्ने टिमलाई समर्थन पनि गरिरहेको छु ।

कसको समर्थक हुनुहुन्छ ?

म सानैदेखि रोनाल्डोको फ्यान हुँ । रोनाल्डो कै गेम हेरेर म हुर्केको हुँ । त्यसकारण पनि रोनाल्डोको फ्यान भएर नै निरन्तर उनको समर्थक भइरहेको छु । तर यस पटक रोनाल्डो फाईनलमा पुग्न सकेनन् दुःख लागेको छ ।

तपाईँले मन पराएको टिम फाइनलमा नपुग्दा कस्तो अनुभूति भयो ?

आफूले समर्थन गरेको टिमले हार्दा दुःख त लाग्ने नै भयो । यसपाली पोर्चुगलको खेल सुरुदेखि नै निराशाजनक थियो । मलाई गेम हेर्दा टिममै केही कमी कमजोरी भए जस्तो लाग्यो ।

धैरै देशहरु विश्वकप खेल्न पुगिसके, हाम्रो देश अझै पुग्न सकेको छैन, किन होला ?

हो, हामी अझैै विश्वकपमा पुग्न सकेका छैनौं । नेपाली खेलाडीहरू कमजोर त छैनन्, राम्रा राम्रा खेलाडी पनि छन् । अरु देशमा जस्तो नेपालमा खेलाडीका लागि लगानी गरिएको छैन । राम्रो ट्रेनिङदेखि अन्य केही व्यवस्था नै छैन । नेपालमा खेलाडीलाई देशको गहना भनिए पनि नक्कली गहना जस्तै भएका छन् । नेपाली खेलाडीप्रति राज्यको प्राथमिकता बढ्ने हो भने नेपाल पनि चाँडै नै विश्वकपमा नपुग्ला भन्न सकिन्न ।

तपार्इँको विचारमा नेपाली खेलाडी कहिलेसम्म विश्वकपमा पुग्लान् ?

सरकारले खेल र खेलाडीप्रति चासो राख्ने हो भने अब आउने चार वर्षमा नै अवसर नआउँला भन्न सकिन्न ।

तपाईँलाई मनपर्ने नेपाली फुटबल खेलाडी को हो ?

साम्वा दिदी मलाई धैरै मन पर्छ ।

तपाईँले खेलमा हार र जितलाई कसरी लिनुहुन्छ ?

कुनै पनि गेम खेलेर जित्दा स्वाभाविक रुपमै खुशी भइन्छ भने हार्दा निराश त भइन्छ नै । तैपनि कुनै कुनै हारले आगामी गेमको लागि थप सिकाउँछ । आगामी खेलमा त्यसबाट पाठ सिक्न सजिलो हुन्छ । त्यसैले हारलाई पनि शिक्षाकै रुपमा लिन्छु ।

अहिले नेपालमा फुटबल खेलको अवस्था कस्तो छ ?

वास्तवमा भन्ने हो भने नेपालमा फुटवल खेलको मात्र होइन, प्राय धैरै खेल र खेलाडीको अवस्था चाहिँ कमजोर नै छ भन्दा फरक पर्दैन । यहाँ खेलाडीहरूको लागि खास सुविधा नै छैन । रहरले आउने मात्रै हो । अरु देशको तुलनामा नेपालको खेल क्षेत्र निकै पछाडि छ ।

तपाईँलाई खेल क्षेत्रमा लाग्दा पारिवारिक साथ चाहिँ कस्तो छ ?

परिवारको ‘सपोर्ट’ नभएको भए म आज यो स्थानमा हुने थिएन । आज म जे छु त्यो मेरो परिवारको सपोटले नै हो । परिवार मेरो लागि ‘पिलर’ हो । दाइभाउजु, आमाबाबा नै मेरो पे्ररणाको स्रोत पनि हुन् ।

तपाईँको लागि फुटबल के हो ?

साँच्चै भन्ने हो भने मेरा लागि फुटबल नै मेरो संसार हो ।

तपाईँलाई फुटबलले के दियो ?

सम्मान दियो, देशलाई चिनाउने अवसरसँगै एउटा बाटो देखाएको छ । धैरैले नेपाली महिला फुटवल खेलाडी भनेर चिन्नुहुुन्छ । यसैमा मलाई खुशी र गर्व लाग्छ ।

तपाईँको भविष्यको योजना फुटबलमै रमाउने छ कि अरु केही विकल्प सोच्नुभएको छ ?

अहिले त मैले यसबाहेक अरु केही पनि सोचेको छैन । भविष्यमा फुटवल एकेडेमी खोल्ने ठूलो रहर छ । यही एकेडेमीबाट धैरै फुटबल खेलाडीलाई ट्रेनिङ गराउने इच्छा छ । त्यसका लागि यतिबेला मैले धेरै मिहिनेत गर्नुपर्ने छ । हेरौं के हुन्छ ।

अहिले खास केमा व्यस्त हुनुहुन्छ ?

खासै भन्ने हो भने अहिले फुटबल गेम नै भइरहको छैन । त्यसैले बिहान व्यायाम, फुटबलको ट्रेनिङ गर्छु । कलेज पनि जान्छु । यसरी नै समय बितिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्