
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दैछन् । छलफल आज बिहान ९ः १५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुने अर्थमन्त्रीको सचिवालयले दिएको छ।
देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने बताइएको छ ।
केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भेट, उनीहरूको सल्लाह र समन्वयमा सम्भवतः पहिलोपटक यस्तो छलफल हुन लागेको हो । राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक छन् ।
यसअघि साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका थिए । उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग सम्बन्धित विषय छलफलमा प्रस्तुत गरेका थिए ।














