Logo
Logo

प्रधानमन्त्रीसँग प्रश्नोत्तर संसदीय क्यालेन्डरबाटै आउट


819
Shares

काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेन्डर सार्वजनिक गरिएको हो । क्यालेन्डरअनुसार साउन महिनामा अब तीन वटा बैठक बस्ने छन् ।

प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार छ । जहाँ शून्य समय, विशेष समय समावेश छ । अर्को बैठक साउन २५ गते बस्नेछ । जहाँ शून्य समय, शून्य÷विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिँदै छ ।

त्यस्तै साउन २६ गते बस्ने बैठकमा शून्य समय, विशेष समय चलाउने भनिएको छ । सोही दिन खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भनिएको छ ।

संसदीय क्यालेन्डरअनुसार भदौ १५ गतेसम्म ६ वटा बैठक राखिने छ । भदौ १, २ र ३ गते बैठक राख्ने भनिएको छ । त्यसपछि भदौ ८, ९ र १० गते बैठक राख्ने गरी क्यालेन्डर तयार भएको छ । भदौ १ गते शून्य समय, शून्य÷विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ प्रस्तुत गर्ने भनिएको छ ।

भदौ २ गते मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम गर्ने भनिएको छ । भदौ ३ गते शून्य समय, शून्य÷विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ प्रस्तुत हुनेछ ।

भदौ ८ गते संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक र राहदानी (पहिलो संशोधन) विधेयकलाई सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची छ ।

भदौ ९ गते र १० गते पनि विधायिकी कार्यहरू गर्ने, मन्त्रालयगत प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस, प्रस्तावहरू (जरुरी÷संकल्प÷ध्यानाकर्षण) प्रस्ताव अगाडि बढाउने विषयहरू क्यालेन्डरमा छ । तर, प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने विषय संसदीय क्यालेन्डरमा राखिएको छैन । वर्तमान सरकार बनेपछि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको छैन ।

१७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूको प्रश्न लिएर जवाफ दिएका थिए । सो क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने विवादित अभिव्यक्ति दिएका थिए । त्यसयता प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएको छैन । यस अवस्थामा संसदीय क्यालेन्डरमा पनि संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राख्नै छाडिएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केही गरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।

नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’ तर, यस्तो प्रावधान कार्यान्वयन भएको छैन । यो व्यवस्था कार्यान्वयन नभएको भनेर संसद्मा सांसदहरूले प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्